सुदूर नेपाललाई विश्वसँग जोड्दै

हात्तीको नङ काट्ने नेपाली शैली अमेरिकासम्म पुग्यो

२०८२ कार्तिक २१, ०२:२७ खबर संवाददाता

गुलरिया (बर्दिया): नेपालमा परम्परागत रूपमा हात्तीको नङ काट्ने चलन पुरानो भए पनि पछिल्ला वर्षहरूमा आधुनिक प्रविधिको प्रयोगसँगै हात्तीको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ।

अठ्ठ वर्षअघि अमेरिकी पशु चिकित्सकको टोली नेपाल आएर हात्तीको नङ काट्ने नयाँ विधि सिकाएपछि अहिले यो प्रक्रिया सहज र सुरक्षित बनेको राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका भेटेनरी डाक्टर किरण रिजालले बताए।

“पहिले हामी नङ माथिबाट काट्थ्यौँ, जसले गर्दा छालामा चोट लाग्ने र लामो समय लाग्ने गथ्र्यो,” उनले भने, “अहिले भने पैतालातिरबाट काट्ने प्रविधि अपनाएका छौँ। यसले नङभित्रको माटो र फोहोर सफा गर्न सजिलो भएको छ, र हात्तीको खुट्टाको स्वास्थ्य पहिलेभन्दा धेरै राम्रो भएको छ।”

अमेरिकी टोलीले नेपाली खुर्पाको प्रयोगबाट प्रभावित भएर आफ्ना उपकरणहरू पनि परिमार्जन गरेका छन्। डा. रिजालका अनुसार, “पहिले उनीहरूले चक्कु वा अन्य उपकरण प्रयोग गर्थे । अहिले नेपाली खुर्पा प्रयोग गर्न थालेका छन्। एक हात्तीको नङ काट्न आठ घण्टा लाग्ने काम अहिले दुई घण्टामै सकिन्छ।” अहिलेसम्म १० वटा नेपाली खुर्पा अमेरिका लगिएको पनि उहाँले जानकारी दिए।

अमेरिकी पशु चिकित्सकहरूको संस्था केएसिफ (प्ऋँ) ले राष्ट्रिय प्रकृति संरक्षण कोषसँग सहकार्य गरी पछिल्ला आठ वर्षदेखि हात्ती स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ। हरेक वर्ष आयोजित यस शिविरमा करिब १० जना अमेरिकी पशु चिकित्सक, प्राविधिक र विद्यार्थी सहभागी हुन्छन्। शिविरमा हात्तीको नङ काट्ने, टिटानस र रेबिजको खोप लगाउने, जुकाको औषधि दिने, तथा विभिन्न स्वास्थ्य परीक्षण र उपचार गरिन्छ।

डा. रिजालका अनुसार घरपालुवा हात्तीको ४० प्रतिशत स्वास्थ्य समस्या खुट्टासँग सम्बन्धित हुन्छ। “खुट्टामा चोट लाग्दा हात्तीको चालढाल र दिनचर्या नै प्रभावित हुन्छ,” उनले बताए।

यस वर्षको हात्ती स्वास्थ्य शिविरमा बर्दिया राष्ट्रिय निकुञ्जका १३ र राष्ट्रिय प्रकृति संरक्षण कोषको एकसहित १४ हात्तीको उपचार गरिएको छ। मङ्गलबारदेखि सुरु भएको शिविर बुधबारसम्म सञ्चालन भयो।

बर्दिया राष्ट्रिय निकुञ्जका निमित्त वरिष्ठ संरक्षण अधिकृत सरोजमणि पौडेलका अनुसार, हात्ती जैविक विविधता संरक्षण र पर्यापर्यटन दुवैका लागि महत्वपूर्ण भएकाले नियमित स्वास्थ्य परीक्षण र नङ काट्ने कार्य आवश्यक हुन्छ। “हामी हरेक ६–६ महिनामा नङ काट्ने गर्छौं,” उनले बताए।

शिविरमार्फत नेपाली र अमेरिकी चिकित्सकबीच प्रविधि आदानप्रदान हुने गरेको छ । चिकित्सकहरूको भनाइअनुसार, शिविर सञ्चालन भएपछि हात्तीको खुट्टा र स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ।
 

कमेन्ट लोड गर्नुस