सुदूर नेपाललाई विश्वसँग जोड्दै

पालमा बसेका शुक्लाफाँटा आरक्षपीडितलाई चिसोको समस्या

तस्बिर: भवानीदत्त भट्ट
तस्बिर: भवानीदत्त भट्ट
२०८२ पुष ५, ०८:३७ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरको शुक्लाफाँटा वन्यजन्तु आरक्ष (हाल निकुञ्ज) विस्तारका क्रममा रौतेली बिछुवाबाट विस्थापित भएका ७४ वर्षीय जयभान भट्ट चिसोले कठ्याङ्ग्रिँदै पालमुनि बस्दै आएका छन्।

भीमदत्त नगरपालिका–४ स्थित जडीबुटीको जमिनमा पालमुनि बस्दै आएका उनले चिसोका कारण पालमुनि बस्न समस्या भइरहेको बताए। जाडो सुरु भएसँगै रातिको समयमा शीत चुहिँदा रातभर चिसोले कठ्याङ्ग्रिँदै गुजारा गर्नु परेको आरक्ष विस्थापितले पीडा पोखे। सरकारले २०५८ वन्यजन्तु आरक्षको नाममा खोसेको गाँस, बास फिर्ता गर्नुपर्ने आरक्षपीडित भट्टले माग गरे। 

यसै गरी रौतेली बिछुवाबाट विस्थापित अर्का आरक्षपीडित वासुदेवी दमाईंले बर्सेनि चिसोमा कष्टकर जीवन बिताउन बाध्य भएको तर सरकारले कुनै ध्यान नदिएको गुनासो गरिन्। दमाईंका जेठा छोरा राजु दमाई २८ वर्ष पहिले बेपत्ता भएका थिए। “जेठो छोरा कमाउन भारत गएपछि बेपत्ता भयो,” उनले भनिन्, “कहिले अँधिया त कहिले मजदुरी गरेर गुजारा गर्दै आएकी छु।” कान्छो छोरा कमाउन भारत गएकाले दैनिकी टार्न केही सजिलो भएको उनले सुनाइन्। “चिसोमा पालमुनि बसेका छौँ,” उनले भनिन्, “न खाने न लगाउने केही पनि छैन।” 

खान, लगाउनका लागि कतैबाट पनि सहयोग नहुँदा आरक्षपीडितहरू विपत्तिमा दैनिकी काट्नु परेको गुनासो गर्छन्। हिरापुरबाट विस्थापित भएका ४० वर्षीय शेरबहादुर चुनारा वृद्ध आमाबुवासँगै महेन्द्रनगरस्थित जडीबुटीको जमिनमा पालमा बस्दै आएका छन। न्यानो कपडाका अभावमा रात काट्न समस्या भएको भन्दै उनले खानेपानी, शौचालयको पनि व्यवस्था नहुँदा झनै समस्या भएको गुनासो गरे। 

जिल्लास्थित ढक्का, हिरापुरलगायत ११ शिविरका तीन सय परिवार अहिले महेन्द्रनगरस्थित जडीबुटीको जमिनमा पाल टाँगेर बसेका छन्। आरक्षपीडितले १० कट्ठा जमिन उपलब्ध गराउनुपर्ने, २४ वर्षसम्मको क्षतिपूर्ति उपलब्ध गराउनुपर्नेलगायतका माग राख्दै आन्दोलन गर्दै आएका छन्।  विभिन्न स्थानमा शिविरमा झन्डै चार हजार आरक्ष विस्थापित बस्दै आएका छन्। आरक्षपीडित जिल्ला सङ्घर्ष समितिका अध्यक्ष रति सुनारले यहाँको भीमदत्त नगरपालिकाका जनप्रतिनिधिहरूलाई भेटेर आरक्षपीडित परिवारलाई खानेपानी, खाद्यान्न, लत्ताकपडा, शौचालयको व्यवस्था गरिदिन आग्रह गरे पनि वास्ता नगरेको गुनासो गरे। 

जडीबुटीको खाली जमिनमा बस्दै आएका आरक्षपीडितलाई भगतपुरका स्थानीयले दुई वटा खानेपानीको धारा उपलब्ध गराएर सहयोग गरेका छन्। उक्त धाराको पानीले खानका लागि गुजारा चलेको आरक्षपीडित सङ्घर्ष समितिका अध्यक्ष सुनारले बताए तर लत्ताकपडा धुन, नुहाउनका लागि भने उनीहरू टाढाको खोला, नदीमा जाने गरेको बताउँछन्। 

भीमदत्त नगरपालिकाले जिल्लाका अन्य पालिकाबाट आएर यहाँ बसेका आरक्षपीडितको सम्पूर्ण व्यवस्थापन भने गर्न नसकिने बताएको छ। उनीहरूलाई सम्बन्धित पालिकाले राहत तथा अन्य कुराको व्यवस्था गर्नुपर्ने भीमदत्त नगरपालिका–४ का वडाध्यक्ष सुशीलकुमार भट्टले बताए। “सुरुमा उनीहरूलाई केही चामलको व्यवस्थापन गर्ने कुरा भएको हो, वडाध्यक्ष भट्टले भने, “लामो समयसम्म भीमदत्तमै बस्ने भन्ने थाहा भएन, यो समस्या चाहिँ बाहिरको हो, भीमदत्तको त होइन।” गाउँपालिकाका अध्यक्ष निर्मल रानाले आरक्षपीडितलाई आवश्यक सहयोग गरिने प्रतिबद्धता जनाए। (गोरखापत्रबाट साभार)  

कमेन्ट लोड गर्नुस