सुदूर नेपाललाई विश्वसँग जोड्दै

डेंगुबाट ४ महिनामा ३ हजार ४ सय २५ बिरामी

२०७६ साउन २५, १२:५६ खबर संवाददाता

तराईसहित विभिन्न जिल्लामा फैलिएको डेंगुबाट अहिलेसम्म झण्डै ३ हजार ५ सय बिरामी भएका छन्। गएको वैशाखदेखि अहिलेसम्म ४२ जिल्लामा ३ हजार ४ सय २५ जनामा डेंगुको संक्रमण भएको इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। बितेका ४ महिनामा सुनसरीमा मात्रै ३ हजार २५ जना डेंगुका बिरामी भेटिएका छन्। मोरङमा ८१, झापामा २९ सहित प्रदेश एकमा ३ हजार १ सय ५२ जना बिरामी भएका हुन्। 

गएको वैशााख अन्तिम हप्ता धरानमा देखिएको डेंगुले महामारीको रुप लिएको छ। प्रदेश २ का पर्सा, सप्तरी, महोत्तरी र सिराहामा गरी १२ जना भेटिएका छन्। सामान्यतया तराईमा देखिने डेंगुको संक्रमण काठमाण्डौ उपत्यकासहित पहाडी जिल्लामा पनि देखिन थालेको छ। काठमाण्डौ उपत्यकाभित्र ९ जना बिरामी भएको पाइएको छ। 

काठमाण्डौमा ६ र ललितपुरमा तीन जनामा डेंगु भेटिएको हो। प्रदेश तीनमा मकवानपुरमा सबैभन्दा धेरै ८३ जना डेंगुबाट प्रभावित भएका छन्। बितेका ४ महिनामा प्रदेश तीनमा १ सय २६ जना बिरामी भेटिएका महाशाखाले जनाएको छ। त्यस्तै गण्डकीमा २६, प्रदेश ५ मा ९६, कर्णालीमा एक र सुदूर पश्चिममा १२ जना बिरामी भएका छन्। लामखुट्टेले टोक्दा डेंगु हुने गर्छ। पानी जम्ने ठाउँमा एडिज लामखुट्टे बढी सक्रिय हुने गर्छ।

विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओका अनुसार डेंगुका कारण बढी ज्वरो आउँछ। टाउको, पेट र जिउ दुख्ने, वाकवाकी लाग्ने, आँखामुनि दुख्नेजस्ता डेंगुका साधारण लक्षण हुन्। डेंगुबाट बच्न घर वरपर सफा राख्ने, झुलको प्रयोग गर्ने, झ्याल ढोकामा जाली राख्ने र लामखुट्टेको टोकाइबाट जोगिनुपर्ने डाक्टरको सल्लाह छ। 
 

कमेन्ट लोड गर्नुस