कैलालीका विभिन्न स्थानबाट भन्सार छलीका सामान बरामद
धनगढी: कैलाली जिल्लाका विभिन्न तीन स्थानबाट प्रहरीले अवैध रूपमा भारतबाट भन्सार छली ल्याइएका करिब ६२ हजार रुपैयाँ बराबरका विभिन्न सामानहरू बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलाली मातहतका विभिन्न युनिटहरूबाट खटिएको गस्ती टोलीले आइतबार ती सामानहरू बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार हिजो बिहान ८ः०० बजे धनगढी उपमहानगरपालिका–९ बांग्राकटानस्थित अस्थायी प्रहरी पोष्ट जुगेडाको टोलीले अन्दाजी १२ हजार २५० रुपैयाँ बराबरको सुपरपावर सुर्ती, रजनीगन्धा गुट्खा र तुलसी सुर्ती बरामद गरेको थियो।
त्यसैगरी, साँझ ६ः५० बजे इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको टोलीले टिकापुर नगरपालिका–३ रामुर चोकस्थित सडक किनारामा बेवारिसे अवस्थामा रहेको २० हजार ४०० रुपैयाँ बराबरको मम्फली र सिद्रा माछा नियन्त्रणमा लिएको छ।
यसैक्रममा, साँझ ७ः०० बजे इलाका प्रहरी कार्यालय पृथ्वीपुरको गस्ती टोलीले भजनी नगरपालिका–७ हिक्मतपुर घाटबाट २९ हजार ३२० रुपैयाँ बराबरको चिनी, तसला, रेन्च चाबी, कर्नी, नटबोल्ट र बिडी लगायतका सामानहरू बरामद गरेको छ। बरामद गरिएका कुल ६१ हजार ९७० रुपैयाँ बराबरका सामानहरू आवश्यक कारबाहीका लागि भन्सार कार्यालय पठाइने र यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।