कैलालीको त्रिनगर भन्सार नाकाबाट पाँच महिनामै ६ अर्बभन्दा बढी व्यापार घाटा
धनगढीः सुदूरपश्चिम प्रदेशको प्रमुख व्यापारिक नाका त्रिनगर भन्सारमा चालु अर्थिक वर्षको व्यापारमा व्यापक असन्तुलन देखिएको छ। यस आर्थिक वर्षको पहिलो पाँच महिनामा उक्त नाकाबाट मात्रै ६ अर्ब रुपैयाँ बराबरको व्यापार घाटा भएको छ।
निर्यातको तुलनामा आयात अत्यधिक बढेको देखिएको छ। जिल्ला भन्सार कार्यालय कैलालीको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि मंसिरसम्म ६ अर्ब ३८ करोड ५२ लाख ८२ हजार रुपैयाँ घाटा भएको हो। यो अवधीमा ६ अर्ब ८४ करोड ९० लाख ७९ हजार रुपैयाँको आयात हुँदा ४६ करोड ३७ लाख ८७ हजार रुपैयाँको मात्रै निर्यात भएको छ।
यसरी हेर्दा निर्यातको तुलनामा आयात झण्डै १५ गुणा बढी भएको देखिन्छ। त्रिनगर नाकाबाट हुने आयातमा सबैभन्दा ठूलो हिस्सा पेट्रोलियम पदार्थले ओगटेको छ। यसका साथै खाद्यान्न, औद्योगिक सामग्री, निर्माण सामग्री र उपभोग्य वस्तुहरू पनि ठूलो परिमाणमा आयात हुने गरेका छन्। यस्ता वस्तुहरू दैनिक उपभोगका लागि आवश्यक भए पनि यसले व्यापार घाटा झन् बढाइरहेको छ।
निर्याततर्फ हेर्दा भने अवस्था निकै कमजोर देखिन्छ। त्रिनगर नाकाबाट सीमित मात्रामा तरकारी, तरल कत्था, पिना, चुनढुंगा लगायतका केही वस्तुहरू भारततर्फ निर्यात हुने गरेका छन्। तर यी वस्तुहरूको मात्रा अत्यन्तै न्यून भएकाले कुल व्यापार सन्तुलनमा खासै प्रभाव पार्न सकेका छैनन्।
भन्सार कार्यालयका अनुसार पछिल्ला वर्षहरूमा पनि त्रिनगर नाकाको व्यापार संरचना उस्तै रहेको छ, जहाँ आयात निरन्तर बढ्दो छ भने निर्यात अपेक्षाकृत रूपमा वृद्धि हुन सकेको छैन। उत्पादनशील उद्योगको कमी, निर्यातमैत्री नीति नहुनु र स्थानीय उत्पादनको प्रतिस्पर्धात्मक क्षमता कमजोर रहेकोले व्यापारघाटा बढिरहेको भन्सार कार्यालय कैलालीका अधिकृत यज्ञराज जोशीले बताए।