साइकल चढनेहरू दिनप्रतिदिन घट्दै
कञ्चनपुर: कुनै समय तराई क्षेत्रको जनजीवनसँग अभिन्न रूपमा जोडिएको साइकलको प्रयोग पछिल्ला वर्षहरूमा तीव्र रूपमा घट्दै गएको छ। प्रविधिको विकास, विलासी जीवनशैलीप्रतिको आकर्षण र समयको अभावका कारण साइकल बिस्तारै विस्थापित हुँदै गएको देखिन्छ।
शुक्लाफाँटा नगरपालिका–६ का कृष्णबहादुर ऐर अहिले पनि नियमित रूपमा साइकल प्रयोग गर्छन्। घरदेखि बजारसम्मको करिब तीन किलोमिटर दूरी उनी सधैँ साइकलमै तय गर्छन्। साइकलले स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने विश्वास उनको छ । “साइकल चलाउँदा शरीर तन्दुरुस्त रहन्छ, अहिलेसम्म कुनै गम्भीर रोग लागेन,” उनी भन्छन्। तर उनका अधिकांश समकालीन साथीहरू भने अहिले विद्युतीय स्कुटी, मोटरसाइकल र कार प्रयोग गर्न थालेका छन्। उनको अनुभवमा साइकल अहिले सीमित सचेत व्यक्ति र न्यून आय भएका वर्गको साधनमा सीमित भएको छ।
साइकलको प्रयोग घटेसँगै यसमा निर्भर व्यवसायीहरू पनि संकटमा परेका छन्। शुक्लाफाँटाको वनसमिति बजारमा लामो समयदेखि साइकल मर्मत तथा बिक्री गर्दै आएका रामबहादुर धामीका अनुसार पहिले दैनिक रूपमा नयाँ साइकल बिक्री हुने र मर्मतका लागि ग्राहकको भीड लाग्ने गथ्र्यो। अहिले भने महिनामा एक–दुईवटा साइकल बिक्री हुन पनि कठिन भएको उनी बताउँछन्। विद्युतीय सवारी र मोटरसाइकलको बढ्दो प्रयोगले साइकल व्यवसाय धरासायी बन्दै गएको उनको भनाइ छ।
सिमलफाँटाका धनबहादुर चौधरी पनि कहिल्यै साइकलका सौखिन थिए। तर समयको चाप र टाढाको कार्यस्थलका कारण उनले अहिले मोटरसाइकल रोजेका छन्। “साइकल वातावरणमैत्री भए पनि समयमै गन्तव्यमा पुग्न कठिन भयो,” उनी भन्छन्। यस्तै कारणले धेरैले समय बचतलाई प्राथमिकता दिँदा साइकल प्रयोग घट्दै गएको छ।
सामाजिक अगुवा दानबहादुर ऐरका अनुसार तराईमा साइकलको इतिहास सामाजिक प्रतिष्ठासँग पनि जोडिएको थियो। पहिले साइकल हुनु सम्पन्नताको प्रतीक मानिन्थ्यो। तर समयसँगै मोटरसाइकल र कारको प्रयोग बढ्दा साइकललाई ‘गरिबको सवारी’ भन्ने सोच विकसित भएको उनी बताउँछन्।
शिक्षक धर्मा भण्डारीका अनुसार विगतमा शिक्षक र विद्यार्थीका लागि साइकल प्रमुख सवारी साधन थियो। छात्रवृत्तिका रूपमा साइकल पाउँदा विद्यार्थीहरू निकै उत्साहित हुन्थे। अहिले विद्यालय बसको सुविधा र ढुवानी साधनको सहजताले साइकलको उपयोगिता घट्दै गएको उनको भनाइ छ।
यद्यपि प्रयोगकर्ता घटे पनि साइकलको मूल्य भने बढेको छ। केही वर्षअघि दुई–तीन हजार रुपैयाँमा पाइने साइकल अहिले सातदेखि नौ हजार रुपैयाँसम्म पर्छ। आधुनिक गियरयुक्त साइकलको मूल्य २० हजारदेखि ६० हजार रुपैयाँसम्म पुगेको छ।
स्वास्थ्यकर्मी हरिनाथका अनुसार साइकल चलाउनु पूर्ण शरीरको व्यायाम हो। नियमित साइकलिङले मुटुरोग, मधुमेह, मोटोपना र उच्च रक्तचापको जोखिम घटाउने उनी बताउँछन्। मोटरचालित सवारीको अत्यधिक प्रयोगले शारीरिक श्रम घट्दा जीवनशैलीजन्य रोग बढ्दै गएको उनको भनाइ छ ।
झलारीका करन जोशीका अनुसार साइकलको गति सुस्त भएकाले नयाँ पुस्ता यसतर्फ आकर्षित हुन सकेको छैन। हाल साइकल प्रयोग मुख्यतः व्यायामका लागि, न्यून आय भएका मजदुर र वातावरणप्रति सचेत थोरै व्यक्तिमा सीमित भएको छ।
साइकल स्वस्थ जीवन र स्वच्छ वातावरणको आधार भएको उल्लेख गर्दै उनले स्थानीय तहले साइकल लेनको व्यवस्था र वातावरणमैत्री सवारीलाई प्रोत्साहन गर्ने नीति ल्याउन सकेमा यसको प्रयोग पुनः बढ्न सक्ने बताउँछन्।