पुस १७ देखि भादा गाउँमा थारु होमस्टे महोत्सव हुने
धनगढी: थारु होमस्टेलाई प्रवर्धन गर्ने उद्देश्यका साथ धनगढी–१६ भादा गाउँमा यही पुस १७ गतेदेखि ‘थारु होमस्टे गाउँ भादा महोत्सव आयोजना हुने भएको छ । थारु होमस्टे गाउँ भादा पर्यटन विकास तथा व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मीनारायण चौधरीले मंगलबार पत्रकार सम्मेलन आयोजना गरी पुस २१ गतेसम्म महोत्सव आयोजना हुने जनाए ।
महोत्सवको तयारी तीव्र पारिएको बताउँदै उनले भादा गाउँमा थारु होमस्टे सञ्चालन भएको अवसरमा हरेक वर्ष पाँच दिन महोत्सव आयोजना गर्दै आएको बताए । होमस्टेको प्रबद्र्धनसंगै थारु जातिको परम्परा भेषभुषा, कला संस्कृति परिकार र पहिचानलाई प्रचार प्रसार गर्न महोत्सव आयोजना गरिरहेको अध्यक्ष चौधरीले जनाए ।
‘थारु सामुदायिक होमस्टेलाई प्रचार प्रसार गर्ने पनि हाम्रो उद्देश्य हो,’ उनले भने, ‘१२ वर्षदेखि निरन्तर आयोजना भइरहेको महोत्सवले थारु गाउँ होमस्टेको देश विदेशमा राम्रो प्रचार भएको छ । विभिन्न क्षेत्रका व्यक्तिहरू यहाँ आइरहेका छन् । जसले गर्दा प्रत्येक दिन १५–२० जना पर्यटक आइरहेका छन् । कहिलेकाहीँ त ७६ जनासम्म पुग्नु भएको छ । हामी निकै उत्साहित छौँ ।’
अध्यक्ष चौधरीले कोभिडपछि ठप्प भएको होमस्टे अहिले पुनः फस्टाएको बताए । उनले महोत्सवले यसलाई अझै विकास गर्न ठूलो मद्दत गर्ने बताए । उनले महोत्सवमा प्रवेश निःशुल्क गरिएको जनाए । महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारहरूको प्रस्तुति, थारु परिकार, देउथान अवलोकन, थारु संग्राहलय अवलोकन लगायत मुख्य आकर्षण रहनुका साथै सो अवसरमा खुल्ला भलिबल प्रतियोगिता, हस्तकला र कृषि प्रदर्शनी समेत आयोजना गरिने आयोजक समितिले जनाएको छ । आयोजकले महोत्सवमा एक लाख जनाले अवलोकन गर्ने अपेक्षा गरेको छ ।
२०७६ पुस १७ गते नेपाल भ्रमण वर्ष २०११ को अवसर पारेर भादा गाउँमा थारु होमस्टे शुरु गरिएको थियो । १७ घरबाट शुरु गरिएको होमस्टे २० घरमा विस्तार भएको अध्यक्ष चौधरीले बताए ।