आधारभूत शिक्षाको गुणस्तर वृद्धि गर्न नीति संवाद
धनगढीः विद्यार्थीको समग्र सिकाइ उपलब्धि राम्रो बनाउनका लागि आधारभूत तहमा शिक्षाको गुणस्तर अझ राम्रो हुनुपर्ने सरोकारवालाले बताएका छन् ।
सामाजिक विकास मन्त्रालयले युनिसेफ र ब्रिटिस काउन्सिलको सहकार्यमा सोमबार धनगढीमा आयोजना गरेको आधारभूत सिकाइ सम्बन्धमा नीति संवाद कार्यक्रममा उनीहरूले कक्षा १ देखि ३ सम्म शिक्षाको गुणस्तरलाई थप राम्रो बनाउनुपर्ने बताएका छन् । सम्पूर्ण सिकाइको फाउन्डेसन आधारभूत तह रहेकाले यो तहमा सिकाइ राम्रो भएमा त्यसले माथिल्लो तहमा पनि राम्रो गर्ने उनीहरूले धारणा राखे ।
शिक्षाको पहुँचमा समस्या नरहे पनि गुणस्तरमा ठुलो समस्या रहेको मन्त्रालयका प्रदेश सचिव डा. हेमराज रेग्मीले बताए। सुदूरपश्चिम प्रदेशमा आधा घण्टामै विद्यालय पुग्न सकिने विद्यार्थीको सङ्ख्या ९८ प्रतिशत रहेको उनको भनाइ छ । प्रदेशमा शिक्षकको पुनः दरबन्दी पहिलो आवश्यकता रहेको औँल्याउदै रेग्मीले भने, ‘बिचमै विद्यार्थीले विद्यालय छोड्ने दर पनि धेरै छ । तीन प्रतिशत विद्यार्थी अझै शिक्षाको पहुँचबाट बाहिर छन् । यिनीहरू सबैलाई समेटेर शिक्षाको गुणस्तर वृद्धिका लागि हामी सबैले सहकार्य गर्न आवश्यक छ ।’
युनिसेफको अध्ययन अनुसार ९.१ प्रतिशत विद्यार्थीले मात्रै कक्षा ३ का लागि तोकिएको पढाइसम्बन्धी मापदण्ड पूरा गर्ने गरेका छन् । यसै गरी १६.२ प्रतिशत विद्यार्थीले मात्र एक मिनेटमा ४५ वटा शब्द शुद्धसँग पढ्ने गरेका छन् । सो संस्थाका धनगढी फिल्ड अफिसर इन्द्र पन्तले समाज, संस्कृतिलाई सम्बोधन गर्ने हिसाबले सिकाइ नीति बनाउन जरुरी रहेको बताए।
उनले फाउन्डेसनमै सिकाइमा सहयोग गर्न आवश्यक रहेको औँल्याउँदै भने ‘सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र मधेश प्रदेशमा यस्तो संवाद गरेर सबै ठाउँबाट आएको निष्कर्षले नीति निर्माणमा सहयोग पु¥याउने छ ।’ सामाजिक विकास मन्त्रालयका शिक्षा शाखा प्रमुख लोकेन्द्रप्रसाद भट्टले लेखाइ, पढाइ र गणितसम्बन्धी ज्ञान आधारभूत तहमा दिन नसके शिक्षाको गुणस्तर राम्रो हुन नसक्ने बताए।