प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टीे डडेल्धुराबाट उम्मेदवारहरु सिफारिस
धनगढीः नेपाली कम्युनिस्ट पार्टी (नेकपा) डडेल्धुराले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गरेको छ। नेकपा नेताहरूको बैठकले प्रत्यक्ष तथा समानुपातिक दुबैतर्फ इच्छुक उम्मेदवारको नाम सिफारिस गरेको हो।
नेकपा नेता उमेशप्रसाद भट्टका अनुसार प्रत्यक्षतर्फ ४ जनाको नाम सिफारिस गरिएको छ । महिलातर्फ निरादेवी जैरु, खुल्लातर्फ मानसिंह माल ‘क्रान्ति’ र अनिल बोहरा तथा जेन–जीबाट मुकुन्द भट्टको नाम सर्वसम्मतरूपमा सिफारिस गरिएको भट्टले जानकारी दिए।
डडेल्धुरामा प्रतिनिधिसभातर्फ एउटा मात्रै निर्वाचन क्षेत्र छ । त्यहाँबाट चुनाव लड्न नेपाली कांग्रेसले भने सभापति शेरबहादुर देउवाको नाम सर्वसम्मत सिफारिस गरेको छ । देउवा २०४८ सालदेखि संघीय निर्वाचनमा अपराजित छन् । देउवाका विगतदेखिका प्रतिस्पर्धी नेकपाका नेता खगराज भट्टको नाम भने यसपटक सिफारिस भएको छैन । 'स्थानीय, प्रदेशसभा र राष्ट्रियसभामा भएकाहरुको नाम सिफारिस नगर्नु भन्ने केन्द्रको निर्देशन छ' नेकपा डडेल्धुराका नेता भट्टले भने । खगराज अहिले प्रदेशसभा सदस्य छन् ।
यस्तै समानुपातिकतर्फ नेकपा डडेल्धुराले १० जनाको नाम सिफारिस गरेको छ । अहिल्या कुँवर, शकुन्तला नगरकोटी, नरबहादुर बिष्ट, टेकबहादुर भण्डारी, नन्दादेवी भट्ट, लक्ष्मी कामी, विरेन्द्र मल्ल, जयन्ती बुढाऐर, नरभान पार्की र धर्म लुहारको नाम सिफारिस गरिएको छ।