प्रतिनिधिसभा निर्वाचनमा १ करोड ८९ लाखभन्दा बढी मतदाता सहभागी हुने
धनगढी: आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि १ करोड ८९ लाख ३ हजार ६८९ मतदाता समावेश भएको अन्तिम मतदाता नामावली प्रकाशन गरिएको छ। निर्वाचन आयोगले शनिबार अन्तिम नामावली सार्वजनिक गर्दै सो जानकारी दिएको हो।
अन्तिम मतदाता नामावलीअनुसार पुरुष मतदाता ९६ लाख ६३ हजार ३५८, महिला मतदाता ९२ लाख ४० हजार १३१ र अन्य २०० जना रहेका छन्। सम्बन्धित मतदाताले आयोगको वेबसाइटमार्फत आफ्नो नाम मतदाता नामावलीमा समावेश भएको छ कि छैन भनी हेर्न सक्ने व्यवस्था गरिएको छ।
मतदाता नामावली ऐन, २०७३ को दफा २० बमोजिम आयोगले अन्तिम मतदाता नामावली प्रकाशन गर्ने निर्णय गरेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए। आयोगका अनुसार आगामी फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा गर्ने नागरिकहरूको विवरण समेत अद्यावधिक गरी अन्तिम मतदाता नामावली तयार गरिएको हो।
विसं २०७९ मा सम्पन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनमा कुल मतदाताको संख्या १ करोड ७९ लाख ८८ हजार ५७० रहेको थियो। त्यसबेला पुरुष ९१ लाख ४० हजार ८०६, महिला ८८ लाख ४७ हजार ५७९ र अन्य १८५ मतदाता रहेका थिए। २०७९ को निर्वाचनको तुलनामा २०८२ मा कुल मतदाता संख्या ९ लाख १५ हजार ११९ ले वृद्धि भएको आयोगले जनाएको छ। यस अवधिमा पुरुष मतदाता ५ लाख २२ हजार ५५२, महिला मतदाता ३ लाख ९२ हजार ५५२ र अन्य मतदाता १५ जना थपिएका छन्।
अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताका लागि देशभर १० हजार ९६७ मतदानस्थलमा २३ हजार ११२ मतदान केन्द्र निर्धारण गरिएको छ। यो संख्या २०७९ सालको निर्वाचनको तुलनामा मतदानस्थल ७५ र मतदान केन्द्र ८८५ ले वृद्धि भएको हो।