सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेलधुरामा ९६ प्रतिशत घरधुरीमा विद्युत् पहुँच

२०८२ पुष १५, ०२:२८ खबर संवाददाता

डडेलधुरा: डडेलधुरामा हालसम्म ९६ प्रतिशतभन्दा बढी घरधुरीमा विद्युत् पुगेको छ। यससँगै सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुरपछि डडेलधुरा पनि उच्च विद्युत् पहुँच भएको जिल्लामा सूचीकृत भएको छ। कैलाली र कञ्चनपुरमा भने शतप्रतिशत घरधुरीमा विद्युत् सेवा पुगेको छ।

जिल्लाभर रहेका ३१ हजार १७२ घरधुरीमध्ये ३० हजार १५१ घरपरिवारमा विद्युत् पुगेको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र डडेलधुराका प्रमुख कपिल जोशीले जानकारी दिए। उनका अनुसार बाँकी एक हजार २१ घरधुरीमा विद्युतीकरणको काम तीव्र गतिमा भइरहेको छ।

दुई वर्षअघि जिल्लामा करिब २३ हजार घरधुरीमा मात्रै विद्युत् पुगेको थियो। शतप्रतिशत विद्युतीकरणको लक्ष्यसहित करिब ४५ करोड रुपैयाँको टेन्डर प्रक्रिया अघि बढेपछि हाल विद्युत् पहुँच ९६ प्रतिशत पुगेको हो। सातवटै स्थानीय तहका विकट गाउँबस्तीमा अझै पनि केही घरधुरीमा विद्युत् पुग्न बाँकी छ।

स्थानीय तहगत तथ्याङ्कअनुसार अमरगढी नगरपालिकामा ६० घरधुरी अझै विद्युत् पहुँचबाहिर छन्। चिरकिट्टे, पाण्डेबस्ती र भरडाल क्षेत्रका केही घरधुरीमा बिजुली पुगेको छैन। परशुराम नगरपालिकामा ३०८ घरधुरीमा विद्युत् सेवा विस्तार हुन बाँकी छ, जसमा बसौटी, सलोन, हल्दवारी, रजौडा, सिमलबन्ड र कुँडाल क्षेत्रका बस्ती पर्छन्।

आलिताल गाउँपालिकाका १८०, भागेश्वर गाउँपालिकाका १४८, नवदुर्गा गाउँपालिकाका ८५, अजयमेरु गाउँपालिकाका करिब १०० र गन्यापधुरा गाउँपालिकाका १३१ घरधुरीमा अझै विद्युतीकरण हुन सकेको छैन। यी क्षेत्रहरू प्रायः विकट र पहाडी भूभागमा पर्दछन्।

कार्यालय प्रमुख जोशीका अनुसार पहाडका कुनाकन्दरामा एक÷एक घर टाढाटाढा रहेका कारण सबै घरधुरीमा विद्युत् विस्तार गर्न चुनौतीपूर्ण भएको छ। साथै, ठेक्का पाएका निर्माण व्यवसायीको लापर्बाहीले पनि काममा ढिलाइ हुने गरेको उनले बताए।

सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लामध्ये बाजुरामा सबैभन्दा कम ३३.५१ प्रतिशत मात्र विद्युतीकरण भएको छ भने डडेलधुरामा सबैभन्दा बढी ९६ प्रतिशत घरधुरीमा विद्युत् पुगेको छ।
 

कमेन्ट लोड गर्नुस