लामो समयपछि सुदूरपश्चिमको तराईमा घाम, कैलाली-कञ्चनपुरको तापक्रममा हल्का सुधार
धनगढीः लामो समयदेखि बाक्लो हुस्सु र कुहिरोले ढाकिएको सुदूरपश्चिम प्रदेशको तराई क्षेत्र आज केही खुलेको छ। कैलाली र कञ्चनपुर जिल्लामा धेरै दिनपछि घाम लागेपछि मौसम सफा भएको अनुभूति स्थानीयले व्यक्त गरेका छन्। बिहानैदेखि देखिएको घामसँगै बाक्लो कुहिरो क्रमशः हट्दै गएपछि निरन्तर घट्दै गएको तापक्रममा पनि हल्का वृद्धि भएको छ।
पछिल्ला केही दिनदेखि पश्चिमी न्यूनचापीय प्रणाली र चिसो हावाको प्रभावका कारण तराई क्षेत्रमा घाम देखिन सकेको थिएन। यसले दैनिक जनजीवन प्रभावित हुनुका साथै चिसोको असर विशेषगरी बालबालिका, वृद्धवृद्धा र दीर्घरोगीहरूमा बढी देखिएको थियो।
मौसम सफा भएसँगै विद्यालय जाने विद्यार्थी, बिहान-साँझ कामकाजका लागि निस्कने सर्वसाधारण तथा किसानहरूलाई केही सहजता मिलेको छ। किसानहरूका अनुसार लगातारको कुहिरोले तरकारी र गहुँबालीमा ओसिलोपन बढाएको थियो भने घाम लागेपछि बालीको अवस्था सुधार हुने अपेक्षा गरिएको छ।
मौसमविद्हरूका अनुसार हाल पश्चिमी भूभागमा मौसम क्रमशः सुधारोन्मुख देखिएको छ। यद्यपि बिहान र साँझ चिसो अझै कायम रहने भएकाले आवश्यक सावधानी अपनाउन सुझाव दिइएको छ। आगामी केही दिनसम्म आंशिक बदली रहे पनि आजजस्तै घाम लाग्ने सम्भावना रहेकाले तापक्रम क्रमशः बढ्ने अनुमान गरिएको छ।