बेरोजगारीले थिचिएका शिक्षित युवा
संगीता बोहरा, धनगढीः नेपालमा शिक्षित युवाहरू आज गहिरो अन्योलसँग जुधिरहेका छन्— पढाइपछि के ? वर्षौँको मेहनत, अभिभावकको त्याग र उज्ज्वल भविष्यको सपना बोकेर उच्च शिक्षा हासिल गरे पनि अपेक्षित रोजगारी नपाउँदा युवाहरू निराश हुँदै गएका छन्। यो समस्या कुनै एक व्यक्ति वा परिवारको मात्र होइन, समग्र देशको साझा यथार्थ बनेको छ।
सपनाले भरिएको पढाइ, तर खाली हातको यथार्थ
गाउँमा वृद्ध बुवा–आमाहरू स्याहारको प्रतीक्षामा छन्। छोराछोरी शहरमा पढिरहेका छन्, घरपरिवारले ठूलो आशा र भरोसाका साथ पठाएका। अभिभावकहरू मजदुरी गर्दै पसिना बगाउँछन्, सन्तानले पढेर राम्रो भविष्य बनाउने विश्वासमा।
छोरा–छोरीले स्नातक तह उत्तीर्ण गरेका छन्, प्रमाणपत्र हातमा छन्, तर जागिरको ठेगान छैन। अनि घरबाट बारम्बार सोधिने एउटै प्रश्न हुन्छ, “जागिर पायौ ?” उत्तर पनि उस्तै “अहिलेसम्म छैन।”
यही उत्तरले कतिपय घरमा निराशा, चिन्ता र कहिलेकाहीँ कठोर शब्द जन्माउँछ। “पढेर के गरिस् त ?” भन्ने प्रश्नले युवाको आत्मविश्वासमा गहिरो चोट पुर्याउँछ। युवाहरू चुप लाग्न बाध्य हुन्छन्, किनकि उनीहरूसँग न त बहाना हुन्छ, न त तुरुन्त समाधान।
स्नातकपछि अन्योलको घेरा
आज स्नातक तह पूरा गरेका धेरै युवा अब के गर्ने ? भन्ने द्विविधामा छन्। मास्टर्स पढ्ने कि नपढ्ने ? पढेपछि पनि जागिर पाइन्छ कि पाइँदैन ? कतै काम खोज्दा आफ्नो सीप र क्षमताअनुसारको अवसर भेटिँदैन। भेटिए पनि श्रमअनुसारको पारिश्रमिक नपाउँदा निराशा थपिन्छ। धेरै युवासँग व्यवहारिक सीप नहुनु पनि अर्को समस्या हो, किनकि उनीहरूले पढेका कुरालाई प्रयोगमा उतार्ने अवसर नै पाएका हुँदैनन्।
आर्थिक रूपमा कमजोर परिवारका युवाहरूका लागि यो अवस्था झनै कठिन हुन्छ। “स्नातक सकेर पनि जागिर छैन, अझै कता बाट खर्च दिने ?” भन्ने चिन्ता अभिभावकको मनमा गहिरो रूपमा बस्छ। साथीभाइबीच छलफल हुँदा धेरैजसो एउटै निष्कर्षमा पुगिन्छ 'नेपालमा पढाइ र रोजगारीबीच ठूलो दूरी छ।'
विदेश रोज्न बाध्य युवा
यही कारण धेरै युवा कन्सल्टेन्सी धाउँदै विदेश जाने विकल्प खोजिरहेका छन् । कोही अध्ययनको नाममा, कोही कामको खोजीमा। सीप, क्षमता र इच्छाशक्ति हुँदाहुँदै पनि देशभित्र पर्याप्त अवसर नपाउँदा उनीहरू बाध्य भएर विदेशिने बाटो रोजिरहेका छन्। यो चाहना होइन, परिस्थितिले जन्माएको बाध्यता हो।
बेरोजगारीले आर्थिक कठिनाइ मात्र होइन, गम्भीर मानसिक तनाव पनि निम्त्याएको छ। शिक्षित भएर पनि बेरोजगार हुनु समाजमा लज्जाको विषयझैँ बनाइँदा युवाहरू झनै एक्लो महसुस गर्न थाल्छन्। निराशा, तनाव र आत्मग्लानी जस्ता समस्याले युवाको मनोबल कमजोर बनाइरहेको छ।
यो अवस्थाको सम्पूर्ण जिम्मेवारी युवामाथि मात्र थोपर्न मिल्दैन। समस्या हाम्रो शिक्षा प्रणाली, रोजगारी नीति र राज्यको कमजोर कार्यान्वयनसँग जोडिएको छ। शिक्षा र रोजगारीबीचको दूरी घटाउन नसक्दासम्म यो संकट अझ गहिरिँदै जानेछ।
यदि देशमै रोजगारी सिर्जना गर्ने दीर्घकालीन योजनाहरू प्रभावकारी रूपमा लागू भएका भए, सीपमूलक तालिम, उद्योग प्रवर्द्धन र युवा–लक्षित कार्यक्रम व्यवहारमा उतारिएका भए, आज यति ठूलो संख्यामा युवा विदेशिन बाध्य हुने थिएनन्।
युवामा लगानी नै राष्ट्रको लगानी
युवालाई दोष दिएर होइन, युवामा लगानी गरेर मात्र राष्ट्रको भविष्य सुरक्षित हुन्छ। शिक्षित युवा देशको बोझ होइनन्, शक्ति हुन्। उनीहरूलाई अवसर, भरोसा र सम्मान चाहिएको छ। अब पनि राज्य गम्भीर नबन्ने हो भने “ब्रेन ड्रेन” मात्र होइन, “ड्रिम ड्रेन” को खतरा बढ्दै जानेछ, जहाँ युवाका सपना नै देशबाहिर पलायन हुनेछन्।
अब प्रश्न युवालाई होइन, राज्यलाई होः के देशले आफ्ना शिक्षित युवालाई यहीँ राख्न चाहन्छ?