बैतडीमा घरबारविहीन परिवारलाई दुई लाख सहयोग
बैतडी: पहिरोका कारण घरबारविहीन भएका बैतडीका दुई परिवारलाई नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले दुई लाख सहयोग उपलब्ध गराएको छ।
सुर्नया गाउँपालिका–२ कटनोलीका रेखा चन्द र ग्रीस चन्दलाई घर पुनःनिर्माणका लागि उक्त रकम सहयोग गरेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड सतबाँझ शाखाका प्रबन्धक गोविन्द बिष्टले जानकारी दिए। गत भदौ १५ गते वर्षासँगै आएको पहिराले दुवै जनाको घर भत्किएको थियो। त्यसयता उहाँहरु सतबाँझमा आफन्तकहाँ बस्दैआएका थिए।
घरवारविहिन रेखा एकल महिला हुन्। दुवै जनालाई जनही रु एक लाखको चेक हस्तान्तरण गरिएको शाखा प्रबन्धक बिष्टले बताए। सुर्नया गाउँपालिका–२ का वडाध्यक्ष गणेशबहादुर बिष्ट र बैंकका शाखा प्रबन्धक बिष्टले संयुक्त रुपमा चेक हस्तान्तरण गरिएको हो। सामाजिक उत्तरदायित्वअन्तर्गत विपद् प्रभावित परिवारलाई आर्थिक सहयोग गरिएको बैंकले जनाएको छ। यसअघि पहिरोे प्रभावित परिवारलाई सुर्नया गाउँपालिकाले खाद्यान्न, लत्ताकपडाका साथै जनही ५० हजार सहयोग गरेको थियो।