स्क्रिन समय बढी हुँदा निर्णय क्षमता कमजोर र चिन्ता बढ्ने समस्या
धनगढीः बाल्यकालमा बढी स्क्रिन समय बिताएका बालबालिकामा किशोरावस्थामा मानसिक स्वास्थ्य समस्या देखापर्ने जोखिम बढी हुने एउटा नयाँ अध्ययनले देखाएको छ ।
ई–बायो मेडिसिन जर्नलमा प्रकाशित प्रतिवेदन अनुसार अध्ययनले दुई वर्षभन्दा कम उमेरका बालबालिकामा बढी स्क्रिन समयले मस्तिष्कको विकासमा दीर्घकालीन प्रभाव पार्ने देखाएको हो । यो अध्ययन सिङ्गापुरको ए स्टार इन्स्टिट्यूट र नेशनल युनिभर्सिटी अफ सिङ्गापुरका अनुसन्धाताहरूले एक दशकभन्दा बढी समयसम्म बालबालिकालाई अनुगमन गरेर गरेका हुन् ।
अध्ययनका अनुसार शिशुहरूमा बढी स्क्रिन समयले मस्तिष्कको सञ्जाल असमयमै परिपक्व हुने गर्दछ जसले गर्दा आठ वर्षको उमेरमा निर्णय लिने क्षमता कमजोर हुन्छ र १३ वर्षसम्म पुग्दा चिन्ताका लक्षणहरू बढी देखा पर्छन् ।
यस्तै अध्ययनले तीन वर्षको उमेरदेखि अभिभावकसँग बसेर नियमित किताब पढ्ने गरेका बालबालिकामा स्क्रिन समयको नकारात्मक प्रभाव घटेको पनि देखाएको छ । विश्वभर बालबालिकाको स्क्रिन समय चिन्ताजनक रूपमा बढिरहेका बेला यो प्रतिवेदन सार्वजनिक भएको हो ।
सन् २०२४ को तथ्याङ्क अनुसार विश्वभर मानिसहरू दैनिक औसत ६ घण्टा ३८ मिनेट स्क्रिनमा बिताउँछन् । अमेरिकामा यो सङ्ख्या ६ घण्टा ४० मिनेट पुगेको छ । बालबालिकाको अवस्था अझ चिन्ताजनक छ । अमेरिकामा ८ देखि १८ वर्षका बालबालिकाले दैनिक औसत साढे ७ घण्टा मनोरञ्जनका लागि मात्र स्क्रिनमा बिताउँछन् । ४१ प्रतिशत किशोरकिशोरीले दैनिक ८ घण्टाभन्दा बढी समय स्क्रिनमा बिताउने गरेको तथ्याङ्कले देखाएको छ ।
अमेरिकन एकेडेमी अफ पेडियाट्रिक्सले १८ महिनाभन्दा कम उमेरका बालबालिकाका लागि स्क्रिन टाइम नदिन सिफारिश गरेको छ । दुईदेखि पाँच वर्षका बालबालिकाका लागि दैनिक एक घण्टामात्र उच्च गुणस्तरको सामग्री हेर्न दिन सुझाव दिइएको छ । तर ८७ प्रतिशत बालबालिकाले सिफारिश गरिएको समयभन्दा बढी स्क्रिनमा समय बिताइरहेका छन् ।
स्क्रिन समय सीमित गर्नुका साथै अभिभावकले बालबालिकासँग किताब पढ्ने, खेल्ने र कुराकानी गर्ने जस्ता गतिविधिमा समय बिताउन अध्येताहरूले आग्रह गरेका छन् ।