सशस्त्र प्रहरीद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
बैतडीः सशस्त्र प्रहरी बलले विद्यार्थीलाई शैक्षिक सामग्री र विद्यालय पोसाक वितरण गरेको छ।
२५औँ सशस्त्र प्रहरी बल स्थापना दिवसका अवसरमा विभिन्न कार्यक्रम सञ्चालनमा रहेका र सोही कार्यक्रमअन्तर्गत यहाँको सशस्त्र प्रहरी बल नेपाल, नम्बर ५१ गुल्म हेडक्वाटरबाट विद्यार्थीलाई शैक्षिक सामग्री र विद्यालय पोसाक वितरण गरिएको हो।
सुर्नया गाउँपालिका–७ स्थित भुवनेश्वर मावि पत्थरकोट, चौथालीका विद्यार्थीलाई शैक्षिक सामग्री र विद्यालय पोसाक वितरण गरिएको सशस्त्र प्रहरी बल नेपाल, नम्बर ५१ गुल्म हेडक्वाटर बैतडीका गुल्मपति, सशस्त्र प्रहरी नायब उपरीक्षक जङ्गबहादुर कुँवरले बताए। विद्यालय अध्ययनरत १३० विद्यार्थीलाई शैक्षिक सामग्री र १३ असहाय विद्यार्थीलाई पोसाक वितरण गरिएको हो।
कार्यक्रममा सुर्नया गाउँपालिकाका अध्यक्ष अम्मरबहादुर कुँवर, सुर्नया–७ का अध्यक्ष भक्तबहादुर कुँवर, विद्यालयका प्रधानाध्यापक नन्दराम अवस्थी, विद्यालय व्यवस्थापन समितिका सदस्य, शिक्षक, विद्यार्थी लगायतको उपस्थिति रहेको थियो।
साथै विद्यार्थीहरुका लागि लागू औषध दुव्र्यसन नियन्त्रणका विषयमा सचेतनामूलक कक्षासमेत सञ्चालन गरिएको गुल्मपति कुँवरले बताए। पछिल्लो समयमा किशोरावस्थाका मानिसहरु लागू औषध दुव्र्यसनमा फसिरहेकाले त्यसको रोकथामका लागि सचेतनामूलक कक्षा सञ्चालन गरिएको उनले बताए। यसअघि सशस्त्र प्रहरीले बैतडीको वीरेन्द्र मावि शाहीलेकमा पनि लागू औषध दुव्र्यसन, सीमा सुरक्षा र युवाको भूमिकाका विषयमा निबन्ध तथा वक्तृत्वकला प्रतियोगिताको आयोजना गरेको थियो।
यस्तै लागू औषध दुव्र्यसन नियन्त्रणका विषयमा केन्द्रित रहेर सडक नाटकसमेत प्रदर्शन गरिएको थियो। आगामी माघ ९ गते सशस्त्र प्रहरी बलले आफ्नो स्थापना दिवस मनाउने तयारी गरेको छ। बैतडीमा सशस्त्र प्रहरीको गुल्म जिल्ला सदरमुकाममा रहेको छ। झुलाघाट, पञ्चेश्वर र शिवनाथ गाउँपालिका गरी तीन ठाउँमा बिओपी सञ्चालनमा छन्।