सुदूर नेपाललाई विश्वसँग जोड्दै

लुम्बिनी म्यारियट रिसोर्ट एण्ड स्पा सञ्चालन हुने, म्यारियट इन्टरनेशनलसँग होटल व्यवस्थापन सम्झौता सम्पन्न

२०८२ पुष २४, १२:१३ खबर संवाददाता

रुपन्देही: रुपन्देही जिल्लाको सियारी गाउँपालिका–५ मा अवस्थित लुम्बिनी प्यालेस रिसोर्ट लिमिटेडले विश्वप्रसिद्ध होटल सञ्जाल  म्यारियट इन्टरनेसनलसँग होटल व्यवस्थापन सम्झौता सम्पन्न गरेको छ। उक्त सम्झौतिपछि रिसोर्टलाई लुम्बिनी म्यारियट रिसोर्ट एण्ड स्पा ब्रान्डअन्तर्गत पाँचतारे होटलका रूपमा सञ्चालन गर्ने तयारी अघि बढाइएको छ।

२०७५ सालदेखि सञ्चालनमा रही निरन्तर मुनाफामा रहेको लुम्बिनी प्यालेस रिसोर्ट लिमिटेडले सेवा स्तरवृद्धि गर्दै पाँचतारे होटल सञ्चालन गर्ने उद्देश्यले म्यारियट इन्टरनेशनलसँग सम्झौता गरेको हो। यो म्यारियट इन्टरनेशनलको काठमाडौं उपत्यकाबाहिरको पहिलो र एकमात्र उपस्थिति हुने जनाइएको छ।

सम्झौतिमा रिसोर्टका तर्फबाट अध्यक्ष दिपक पाण्डे, प्रबन्ध सञ्चालक रोशन कुमार न्यौपाने लगायत उच्च पदाधिकारीहरूको सहभागिता रहेको थियो भने म्यारियट इन्टरनेसनलका तर्फबाट एशिया प्रशान्त क्षेत्रका प्रमुख सञ्चालन अधिकृत निरज गोभिल वरिष्ट उपाध्यक्ष  किरन एन्डिकोट  तथा  उपाध्यक्ष जुही रोयको उपस्थितिमा सम्झौता सम्पन्न गरिएको हो।

कम्पनीले चालु आर्थिक वर्षको अन्त्यसम्म पाँचतारे रिसोर्ट सञ्चालन अनुमति प्राप्त गर्ने लक्ष्य लिएको छ। लुम्बिनी प्यालेस रिसोर्टलाई नेपालको पर्यटन उद्योगमै फरक पहिचान दिने गरी नेपालकै पहिलो र एकमात्र वाटर रिसोर्टको रूपमा विकास गरिने विज्ञप्तिमा उल्लेख छ।

रिसोर्टमा अत्याधुनिक तथा भविष्य उन्मुख, प्रविधियुक्त वाटर फाउन्टेन, म्युजिकल फाउन्टेन, थ्रीडी वाटर स्क्रिन, वाटर सो, मोटर बोटिङ, वाटर रेष्टुरेन्ट र वाटर स्पालगायतका दर्जनौँ जल–आधारित गतिविधिहरू समावेश गरिने जनाइएको छ।

त्यसैगरी, जलवायु परिवर्तन, विश्वव्यापी तापक्रम वृद्धि र पारिस्थितिक असन्तुलन जस्ता चुनौतीलाई मध्यनजर गर्दै रिसोर्टलाई नेपालको पहिलो र एकमात्र ग्रीन सर्टिफिकेसनसहितको वेलनेस रिट्रिट एण्ड इको रिसोर्टको रूपमा विकास गर्ने लक्ष्य राखिएको छ। यसका लागि वातावरण संरक्षण, ऊर्जा बचत, दिगो विकास तथा न्यून प्रदूषणसम्बन्धी मापदण्डहरूको पूर्ण पालना गरिने जनाइएको छ।

अर्गानिक प्रमाणीकरणसहित नेपालकै पहिलो अर्गानिक पाँचतारे वेलनेस लक्जरी रिसोर्टका रूपमा विकास गरिने लक्ष्य लिइएको रिसोर्टलाई स्पोर्ट्स टुरिज्म प्रवर्द्धन गर्ने मल्टी स्पेसियालिटी रिसोर्टको रूपमा समेत विकास गरिनेछ। यस्तै, अन्तर्राष्ट्रिय स्तरका खेल पूर्वाधारहरू निर्माण गरी नेपालमा आयोजना हुने ठूला खेलकुद गतिविधिलाई समेत समेटिने योजना छ।

लुम्बिनी क्षेत्रको धार्मिक र सांस्कृतिक महत्वलाई आत्मसात गर्दै रिसोर्टभित्र बुद्ध थिम पार्क, मिनि स्तुपाज, मिनि बुद्ध म्युजियम, ध्यानस्थल तथा सांस्कृतिक केन्द्र निर्माण गरिने उल्लेख गरिएको छ।

रिसोर्टको प्रभावकारी व्यवस्थापनका लागि २७ वर्षभन्दा बढी अन्तर्राष्ट्रिय होटल व्यवस्थापन अनुभव हासिल गरेका विजनानमरन सानमुगमलाई सञ्चालन तथा स्रोत विकास  उपाध्यक्षका रूपमा नियुक्त गरिएको छ। साथै अन्तर्राष्ट्रिय ख्यातिप्राप्त विज्ञहरूलाई व्यवस्थापन  तथा स्रोत विकास कन्सलट्यान्टका रूपमा समेत संलग्न गराइएको छ।

स्थानीय रोजगारी सिर्जना, स्थानीय उत्पादनको प्रयोग र पर्यटन प्रवर्द्धनमार्फत देशको अर्थतन्त्रमा प्रत्यक्ष तथा अप्रत्यक्ष योगदान पुर्‍याउने उद्देश्यसहित रिसोर्टलाई नेपालको एक नमुना गन्तव्यका रूपमा विकास गर्ने योजना रहेको विज्ञप्तिमा उल्लेख छ। साथै कम्पनीले आगामी दिनमा प्राथमिक शेयर निष्कासन गर्ने तयारी समेत अघि बढाएको जनाएको छ।

कमेन्ट लोड गर्नुस