सुदूर नेपाललाई विश्वसँग जोड्दै

आज राष्ट्र बैंक ऋणपत्रमार्फत २५ अर्ब झिकिँदै

२०८२ पुष २८, ०१:३६ खबर संवाददाता

काठमाडौँः नेपाल राष्ट्र र्बैंकले आज ऋणपत्रमार्फत २५ अर्ब रुपैयाँ झिक्न लागेको छ। ‘नेपाल राष्ट्र बैंक ऋणपत्र ‘छ’ मार्फत बजारबाट २५ अर्ब रुपैयाँ झिक्न लागेको हो।

यसका लागि राष्ट्र बैंकले सूचना जारी गरेको छ। जसअनुसार बैंक तथा वित्तीय संस्थाले आज दिउँसो २ बजेसम्म बोलकबोल गर्न सक्नेछन्। यससँगै राष्ट्र बैंकले ६ वटा ऋणपत्र मार्फत १ खर्ब ३० अर्ब रुपैयाँ बजारबाट झिकिसकेको छ। आज २० अर्ब झिकेपछि यो ऋणपत्रमार्फत राष्ट्र बैंकले १ खर्ब ५५ अर्ब रुपैयाँ संकलन गर्ने छ। आज जारी भएको ऋणपत्र सातौं हो।

यसअघि राष्ट्र बैंकले चारपटक २५ र २५ अर्ब, एकपटक २० अर्ब र एक पटक २५ अर्ब रुपैयाँको ऋणपत्र जारी गरिसकेको छ। बजारमा तरलता तत्काल घट्ने सम्भावना नदेखिएपछि राष्ट्र बैंकले लामो अवधि (एक वर्ष) का लागि पैसा झिकिरहेको हो। यो चरणमा ऋणपत्रमार्फत २ खर्ब रुपैयाँ बजारबाट झिक्ने तयारी रहेको राष्ट्र बैंक स्रोतले बताएको छ।

उक्त ऋणपत्रको ब्याजदर बोलकबोलमार्फत निर्धारण हुने ६ र ६ महिनामा ब्याज भुक्तानी हुनेछ। एक वर्षपछि ऋणपत्रको साावा भुक्तानी हुनेछ। ऋणपत्रमा राष्ट्र बैंकबाट अनुमति पाएका ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था (काउन्टरपार्टी) ले मात्र खरिद गर्न पाउँछन्।

लगानीकर्ताले न्यूनतम ५ करोड र बढीमा ५ करोड रुपैयााले भाग गर्दा निःशेष भाग जाने गरी ऋणपत्रमा बोलकबोल गर्न सकिने छ। यो ऋणपत्र धितो राखेर बैंक र अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रूपमा प्रयोग गर्न ऋण निकाल्न पाइन्छ।


 

कमेन्ट लोड गर्नुस