उम्मेदवार चयनमा सहमति गर्न कांग्रेसका तीन गुट निरन्तर वार्तामा
काठमाडौँ: फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कांग्रेसभित्र उम्मेदवारको टुङ्गो लगाउन सकस भएको छ। पार्टीभित्रका तीन मुख्य गुटहरूबीच भागबन्डामा सहमति नजुट्दा सोमबार बिहान ११ बजेका लागि बोलाइएको संसदीय बोर्डको बैठक अहिलेसम्म बस्न सकेको छैन। आइतबार रातिदेखि नै धुम्बाराहीस्थित एक होटलमा नेताहरूबीच निरन्तर छलफल भए पनि कुनै ठोस निष्कर्ष निस्कन सकेको छैन।
विशेष महाधिवेशनपछि फेरिएको पार्टी समीकरण र निर्वाचन आयोगले गगन थापा नेतृत्वको समूहलाई आधिकारिकता दिएपछि कांग्रेसभित्र शक्ति सन्तुलन मिलाउन नेताहरूलाई कठिन परेको हो। यसैबिच, सोमबार बिहान निवर्तमान सभापति शेरबहादुर देउवाले वार्ताका लागि आफ्नो तर्फबाट प्रतिनिधि परिवर्तन गर्दै रमेश लेखकको ठाउँमा बालकृष्ण खाणलाई पठाएका छन्। शेखर कोइराला समूहबाट डा. मिनेन्द्र रिजाल र वर्तमान संस्थापन पक्षबाट प्रवक्ता देवराज चालिसे र मधु आचार्यले सहमतिको प्रयास गरिरहेका छन्।
सहमहामन्त्री उदय शमशेर राणाले सहमति गरेर मात्रै बोर्ड बैठक बस्ने तयारी भएकाले अहिले वार्ता चलिरहेको जानकारी दिएका छन्। उता डा. मिनेन्द्र रिजालले पनि सहमतिको प्रयास भइरहेको तर कुन बिन्दुमा कुरा मिल्छ भन्ने अझै निश्चित नभएको बताएका छन्। सभापति गगन थापा र निवर्तमान सभापति देउवाबीच टिकटमा कुन पक्षले कति हिस्सा पाउने भन्नेमै मुख्य विवाद देखिएको छ। मंगलबार मनोनयन दर्ता गर्नुपर्ने समयसीमा भएकाले आजै टिकटको टुङ्गो लगाउनुपर्ने दबाबमा नेताहरू रहेका छन्। स्रोतका अनुसार गगन समूह निवर्तमान सांसदहरूलाई टिकट दिन तयार भए पनि नयाँ अनुहार र अन्य निर्वाचन क्षेत्रका विषयमा सहमति जुट्न बाँकी छ।