कञ्चनपुर–२ बाट नवनिर्वाचित रास्वपा नेता बोहराद्वारा महाकाली अस्पतालको निरीक्षण
दोधारा चाँदनीः कञ्चनपुर प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का नेता दीपक बोहराले महाकाली प्रादेशिक अस्पताल निरीक्षण गरी सेवा–सुविधाबारे जानकारी लिएका छन् ।
आज निर्वाचित भएपछि उनी अस्पतालको सेवा सुविधाबारे जानकारी लिन अस्पताल पुगेका थिए । उनलाई अस्पतालका निमित्त मेडिकल सुररिटेन्डेन्ट डा अर्जुन भट्टसँग अस्पतालको अवस्था, सेवा सुविधा र समस्याबारे जानकारी दिएका थिए ।
बोहराले डायलाइसिस सेवाको अभावमा कुनै पनि मिर्गौला पीडित र उपचार नपाएर कसैले ज्यान गुमाउनुपर्ने बाध्यता अन्त्य हुनुपर्ने बताए। “मैले निर्वाचनको समयमा मत माग्दै जाँदा अस्पतालमा सहज रूपमा सेवा पाइँदैन, भनसुनका आधारमा उपचार हुन्छ भनेर गुनासो सुन्नुपरेको थियो”, बोहराले भने, “अब उपचार सेवा सुविधाबारे गुनासो आउनुहुँदैन । सबै जना अस्पतालको सुधारमा लाग्नुपर्छ ।”
अस्पतालका डा अर्जुन भट्टले अस्पतालको स्रोतसाधनले भ्यायअनुसार सेवा प्रवाह हुँदै आएको बताए। “हाल जनशक्ति र भौतिक संरचना थपिँदै गएका छन्, विगतको तुलनामा रिफर हुने बिरामीको सङ्ख्या न्यून छ”, उनले भने, “बिरामीको चाप र अस्पतालमा वेड अभावका कारण सेवा दिन नसकिएको हो । त्यसको व्यवस्थापनमा ध्यान दिनुपर्नेछ ।”
बोहरा कञ्चनपुर क्षेत्र नं २ बाट २३ हजार १२५ मतान्तरसहित विजयी भएका छन् ।