सुदूर नेपाललाई विश्वसँग जोड्दै

आयआर्जनको माध्यम बन्यो धनगढीको शनिवारिय महिला उद्यमी मेला

२०८२ फाल्गुन ३०, ०४:४९ नारायण अवस्थी

धनगढीः धनगढी उपमहानगरपालिकाले गत वर्षबाट सुरू गरेको शनिवारिय महिला उद्यमी मेला आयआर्जनको माध्यम बनेको छ।

धनगढी-१ जेन्जी मार्गमा सातको एक दिन लाग्ने मेला उद्यमी महिलाहरूका लागि वरदान नै सावित भएको छ। मेलामा धनगढीका महिलाहरूले आफैले तयार गरेका हस्तकला तथा स्थानीय खानाका परिकार तयार गरेर बिक्री गर्दै आएका छन्। जसले गर्दा उनीहरूलाई सिप सदुपयोग गर्ने अवसरसँगै आयआर्जन गर्ने मौका मिलेको छ।

शनिवारिय मेलामा हस्तकलाका सामग्री बिक्री गरिरहेका धनगढी-१२ जुगेडाकी सपना तामाङ, निता रोकाया र विपना तामाङले मेलाका कारण आफूहरूले तयार गरेका सामग्री बिक्री गर्न सजिलो भएको बताए।

उनीहरूले घरमा आफैले तयार गरेको पट फ्लावर, बुके, कपाल बाध्ने क्रन्ची, कि रिङ र कपालमा लगाउने बोक्लिप बिक्री गरिरहेका थिए। विद्यार्थी समेत रहेकी निता रोकायाले शनिवारिय मेलाका कारण सिप देखाउन मिलेको बताएकी छन्। उनले भनिन्, 'मेलाका कारण हामीले आफूले सिकेको सिपबाट तयार भएका सामग्री बिक्री गर्न पाएका छौँ, जसले गर्दा आम्दानी भइरहेको छ र घरमा पैसा माग्नुपर्ने बाध्यता हटेको छ।' उनले युट्युब हेरेर सामग्री तयार गर्न सिकेको र ती सामग्री एक सयदेखि तीन सय मूल्यमा बिक्री गरिरहेको बताइन्। 

धनगढी–१, कैलाली पुलकी निधि बर्माले आज जेन्जी मार्गमा लाग्ने शनीबारीय मेलामा आफैंले उत्पादन गरेको सजावटका सामाग्री, झोला,  बालबालिकाको पोसाक, पापड, अचार लगायतका सामग्री बिक्री गरिरहेकी थिइन्। आफूले उत्पादन गरेको सामाग्री बिक्री गर्न पाएकोमा उनी निकै खुसी थिइन्।  उनले भनिन्, 'शनिवारिय मेलाले हामीलाई आयआर्जन गर्ने मौका दिएको छ, उपमहानगरपालिकालाई धन्यवाद छ, घरबाट बाहिर निस्कने र सिप सदुपयोग गर्ने अवसर मिलेको छ, आम्दानी पनि भइरहेको छ।'

धनगढी–७, बुद्धचोककी बिनु चौधरीले पनि हरेक शनिबार आफ्नै हातले बुनेको ऊनको स्वीटर विक्री गर्न आउँछिन्। उनले मेलामा २/३ वटा स्वीटर बिक्री हुने गरेको बताइन्।

धनगढी उपमहानगरपालिकाले हरेक शनिबार आयोजना गर्दै आएको शनिबारीय मेलामा धनगढीका महिला उद्यमीहरुले हस्तकलाबाट उत्पादित सामाग्री विक्रीमा सहयोगी बनेको छ। उनीहरुले घरमै बसेर उत्पादन गरेको सामाग्रीहरु उक्त मेलामा स्टल राखेर बिक्री गर्ने गरेका छन्। मेलामा आफूहरुले उत्पादन गरेको सामाग्री बिक्री हुँदा आफ्नो आयआर्जन बढेको धनगढी-३ चण्डेश्वरी टोलकी बिमला तामाङले बताइन्। उनले गत  दुई हजारसम्म आम्दानी हुने गरेको बताइन्। तामाङले अचार, गुन्द्रुक, आफैले तयार गरेको बच्चाको लुगाहरू बिक्री गर्ने गरेको बताइन्।

शनिवारिय मेला, स्थानीय परिकारको बजारीकरणमा सहयोगी
धनगढीको शनिवारिय महिला उद्यमी मेला स्थानीय खानाका परिकारको बजारीकरण गर्न सहयोगी सिद्ध भएको छ। धनगढी-५ तारानगरकी कविता पन्तले मेलामा आफैंले तयार गेरेको सुत्केरी मसला, ड्राइ फ्रुट्सको लड्डु,  लिटो र अचार बिक्री गर्दै आएकी छन्। उनले मेलामा राम्रो बिक्री भइरहेको बताइन्। 'मेलाले महिलालाई आय गर्ने अवसर दिएको छ। महिलाहरूले रोजगार हुने अवसर पाएका छन्,' उनले भनिन्, 'मेला महिलाका लागि अवसर बनेको छ। धनगढी उपमहानरपालिकालाई धन्यवाद छ। मेलाले निरन्तरता पाएमा महिलाहरूलाई निकै लाभ हुन्छ।' 

शनिवारिय मेलामा सुदूरपश्चिमेली खाना तथा खाजाका परिकार बिक्री हुने थलो बनेको छ। थारू तथा पहाडी खानाका परम्परागत परिकारका बिक्री गर्ने र उपभोग गर्नेका लागि शनिवारी मेला विकल्प बनेको छ। धनगढी-४ की अनिता श्रेष्ठले भने शनिवारिय मेलामा नेवारी परिकार योमरी, बारा, योमरी खाजा सेट, समयबजी, अन्डा बारा बिक्री गर्दै आएकी छन्। उनले गत वर्षदेखि नै मेलामा आउने गरेको र पहिलो शनिबार २४ हजार ८ सयको बिक्री भएको बताइन्। 'शनिवारिय मेला स्थानीय परिकार बिक्री गरेर आय गर्ने माध्यम बनेको छ। मेलाले स्थानीय खाना तथा खाजाका परिकारको बजारीकरण गर्न सहयोग गरेको छ,' श्रेष्ठले भनिन्।

महिलाहरूलाई उद्यमी बनाएर आयआर्जनसँग जोड्ने उद्देश्य राखी धनगढी उपमहानगरपालिकाले २०८२ मंसिर ३ गतेदेखि शनिबारीय मेला आयोजना गर्न थालेको हो। धनगढीको पार्क मोडदेखि कभर्डहलसम्म जेनजी मार्गमा शनिबारीय मेलाका लागि उपमहमानगरपालिकाले स्टल बनाई महिलाहरुलाई निःशुल्क उपलब्ध गराउने गरेको छ। उपमहानगरका अनुसार  जेन्जी मार्गमा ७८ वटा स्टल राखिदै आएको छ। 

उक्त शनिबारी मेलामा बालबालिकाको लागि खेल्ने रमाइलो मेलाका साथै विभिन्न सांस्कृतिक कार्यक्रमहरु समेत राखिदै आएको छ। मेलामा भजन किर्तन समेत हुने गरेको छ।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस