सुदूर नेपाललाई विश्वसँग जोड्दै

लागी गयो ओ इजु, चैतको मैना...

एआइ प्रविधिबाट निर्मित तस्विर
एआइ प्रविधिबाट निर्मित तस्विर
२०८२ चैत्र १, १०:१८ नारायण अवस्थी

लागी गयो ओ इजु, चैतको मैना।
भिट्ट लाया ओ इजु, मेरो पिठीको बैना।।
सोराइ लागन्छे....
सबैका भाइ ओ इजु, भिट्टाकी आइगया।
मेरो बुना ओ इजु, मैले त नाइ पाया।।
सौराइ लागन्छे....
यो गीतको बाँकी अंश पनि थियो तर म बिर्से। यो गीत हाम्रो विद्यालयका शिक्षक गणेशबहादुर बडूले लेख्नुभएको हो जस्तो लाग्छ, तर ठ्याक्कै भन्ने सक्ने अवस्था छैन। किनभने हामी एक/दुई कक्षामा पढ्दा यो गीतमा हामी अध्ययन गरिरहेको गलिनाथ प्राथमिक विद्यालयको सांस्कृतिक टोलीले नृत्य देखाएको थियो। मलाई लाग्छ हाम्रो विद्यालय पहिलो या दोस्रो भएको थियो। त्यहीँ बेलादेखि यो गीतको सुरूको दुई लाइन अहिलेसम्म बिर्सिएको छैन।

यो गीतले छोरी र माइती, दिदिबहिनी र दाइभाइको महत्त्व उजागर गर्छ। चैत महिनामा छोरी-बहिनीहरूलाई कोसेली लगेर भेट्न जाने हाम्रो परम्पराको आत्मा यो गीतमा थियो र छ। हाम्रा गुरूले त्यसलाई टपक्क टिपेर लयमा ढाल्नु भयो। हामीले गायौँ छमछमी नाच्यौँ र अहिलेसम्म गीतको पहिलो अंश सम्झनामा मात्रै छैन। यो गीतको सुरूको दुई लाइनले हाम्रा छोरी-चेली र सामाजिक परम्परा बोकेको छ भन्ने मेरो बुझाइ छ। अहिले पनि यी हरफ गाउन कोसिस गर्दा, आँखाबाट आसु नै झर्छ।

यो गीतको अंशले सुदूरपश्चिमको बैतडी, दार्चुला, डडेल्धुरा,  बझाङको बुङ्गल र चिर क्षेत्रको संस्कृति बोकेको छ। भारतको उत्तराखण्डको कुमाऊ र गढवाल क्षेत्र तथा नेपालको दार्चुला, बैतडी,डडेल्धुरा र बझाङको बुङ्गल र चिर क्षेत्रमा चैत महिनालाई विशेष महत्त्व दिइन्छ। यी क्षेत्रमा छोरी-बहिनीहरूका लागि गच्छेअनुसारको कोसेली लगेर दाइभाइ र भदुहरूले भेट्न जानुपर्छ।  यसरी भेट्न जानुलाई भिटौलो जानु भनिन्छ। सुदूरपश्चिमकै आधा बझाङ, बाजुरा, अछाम र डोटीमा भने माघ महिनामा चेली-बेटीलाई भेट्न जाने चलन छ।

नेपाल विविध संस्कार, परम्परा र संस्कृतिले समृद्ध देश हो। प्रत्येक क्षेत्रको आफ्नै मौलिक पर्व र परम्परा छन्, जसले त्यहाँका मानिसहरूको सामाजिक सम्बन्ध र भावनात्मक सम्बन्धलाई अझ बलियो बनाउँछन्। सुदूरपश्चिम प्रदेशमा मनाइने भिटौलो पर्व पनि यस्तै एउटा विशेष सांस्कृतिक परम्परा हो, जसले माइती र चेलीबेटीबीचको माया, सम्मान र आत्मीयतालाई जीवन्त राख्ने काम गर्छ।

भिटौलो के हो?
भिटौलो पर्व भनेको विवाह भइसकेकी चेलीबेटीलाई माइतीका तर्फबाट दाजुभाइ वा परिवारका सदस्यहरू भेट्न जाने र कोसेली लिएर जाने परम्परा हो। विशेषगरी चैत महिनातिर यो पर्व मनाउने चलन सुदूरपश्चिमका धेरै जिल्लामा पाइन्छ।

यस अवसरमा माइती पक्षका दाजुभाइहरू चेलीबेटीको घर पुगेर मिठा खानेकुरा, फलफूल, लुगाकपडा तथा अन्य कोसेली लिएर जान्छन्। चेलीबेटीका लागि यो केवल भेटघाट मात्र नभई मायाको प्रतीक पनि हो। माइतीघरबाट भेट्न आउनुलाई सम्मान र प्रतिष्ठाको रुपमा लिइन्छ। छोरी-बहिनीहरूलाई सम्मान, माया र आत्मियता प्रदान गर्ने भिटौलो पर्वले माइती र छोरी-बहिनीको सम्बन्ध प्रगाढ बनाएको हुन्छ। अरू समयमा भेट्न जान नसके पनि चैतमा अनिवार्य रुपमा छोरी-बहिनी र फुपूहरूलाई भेट्न जानुपर्छ भन्ने मान्यता छ। जुन मान्यता हरेक माइतीले आत्मसात गर्दै आएका छन्।

कोसेलीको विशेष महत्व
भिटौलोमा माइतीबाट ल्याइने कोसेलीको विशेष महत्व हुन्छ। सामान्यतया यसमा स्थानीय परिकार, मिठाई, फलफूल तथा लुगाकपडा समावेश हुन्छन्। यी सामग्रीहरू केवल उपहार मात्र होइनन्, माइतीको स्नेह, सम्झना र जिम्मेवारीको प्रतीक मानिन्छन्।
चेलीबेटीले माइतीबाट आएको कोसेलीलाई आफ्ना घरपरिवार र गाउँ–छिमेकमा बाँड्ने चलन पनि छ। यसले केवल परिवार मात्र होइन, समुदायबीचको सम्बन्धलाई पनि बलियो बनाउने विश्वास गरिन्छ।

भावनात्मक सम्बन्धको पर्व
विवाहपछि छोरी आफ्नो माइती घरबाट टाढा बस्ने भएकाले कहिलेकाहीँ माइतीको सम्झना झन् गहिरो हुन्छ। भिटौलो पर्वले यही भावनात्मक दूरीलाई कम गर्ने काम गर्छ।
जब दाजुभाइहरू कोसेली लिएर चेलीबेटीको घर पुग्छन्, त्यो क्षण केवल औपचारिक भेट मात्र हुँदैन। त्यो माइतीको माया, सम्झना र अपनत्वको प्रत्यक्ष अनुभूति हुने क्षण हुन्छ।

समाजिक एकताको सन्देश
भिटौलो पर्वले परिवारभित्र मात्र होइन, समाजभित्र पनि एकता र सद्भाव बढाउने सन्देश दिन्छ। माइतीबाट आएको कोसेली गाउँ–छिमेकमा बाँड्ने परम्पराले समुदायमा सहकार्य र सद्भावको भावना विकास गर्छ।

यसले नेपाली समाजमा रहेको “सुख बाँड्दा बढ्छ” भन्ने भावनालाई झल्काउँछ। माइतीको कीसेली बाँडेर खायो भने माइती बढ्छन् भन्ने मान्यता राखिन्छ। त्यसैले भिटौलो छिमेकमा बाँडेर खाइन्छ भने भाइ नभएको छोरी बहिनीलाई काका र ठुलो बुवाका छोराहरूले भेट्ने चलन छ। यो प्रचलनले छोरी-बहिनी पाराया हुँदैनन् भन्ने मान्यता जिवित राखेको छ।

मौलिक संस्कृतिको संरक्षण
आधुनिकता र व्यस्त जीवनशैलीका कारण धेरै परम्पराहरू हराउँदै गइरहेका बेला भिटौलो जस्ता सांस्कृतिक परम्पराहरूले हाम्रो मौलिक पहिचानलाई जोगाइरहेका छन्। यस पर्वले नयाँ पुस्तालाई पनि पारिवारिक सम्बन्ध, सम्मान र संस्कृतिको महत्व बुझाउने काम गर्छ।

भिटौलो पर्व सुदूरपश्चिमको केवल एक परम्परा मात्र होइन, माइती र चेलीबेटीबीचको गहिरो भावनात्मक सम्बन्धको प्रतीक हो। दाजुभाइले चेलीबेटीलाई भेट्ने, कोसेली लिएर जाने र गाउँ–छिमेकमा बाँड्ने परम्पराले नेपाली समाजको आत्मीयता र सहकार्यको संस्कारलाई झल्काउँछ।

यस्ता मौलिक पर्वहरूले हाम्रो संस्कृति जीवित राख्ने मात्र होइन, पारिवारिक र सामाजिक सम्बन्धलाई पनि अझ मजबुत बनाउने काम गर्छन्। त्यसैले भिटौलो पर्वलाई संरक्षण गर्दै नयाँ पुस्तासम्म यसको महत्व पुर्‍याउनु हाम्रो साझा जिम्मेवारी हो।

चैतका लामा दिन इजु, म भोक लागली।
लेक न्याउली बास्दा इजु तेरी याद आसली।।

पिठी बैना नानोइ छ, को भिट्ट आसलो?
सबैका भाइ भिट्ट आउन्ज्या, म रुनु आसलो।।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस