लम्कीचुहा प्रादेशिक अस्पताल चाँडै सञ्चालनमा ल्याइने छ : मुख्यमन्त्री शाह
कैलाली: सुदूरपिश्चमका मुख्यमन्त्री कमल बहादुर शाहले लम्कीचुहामा निर्माण भएको लम्कीचुहा प्रादेशिक अस्पताल चाँडै सञ्चालनमा ल्याइने बताएका छन्।
मुख्यमन्त्री शाहले कैलालीकाे लम्कीमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै कानुन तथा प्रचलित ऐनको दायराभित्र रही अस्पताल सञ्चालनको प्रक्रिया अगाडि बढाइएको जानकारी दिए। उनले अस्पताल सञ्चालनका विषयमा अनावश्यक भ्रम नफैलाउन आग्रह गर्दै सबै काम प्रक्रियागत रूपमा अघि बढिरहेको बताए।
बलिया स्वास्थ्य चौकीबाट स्तरउन्नति हुँदै सुरुमा १५ शैय्याको अस्पताल बनेको लम्कीचुहा नगर अस्पताल अहिले ५० शैय्याको प्रादेशिक अस्पतालमा स्तरोन्नति भइसकेको छ। दीर्घकालीन रूपमा प्रभावकारी सेवा दिन कानुनी प्रक्रिया पूरा गरेर सञ्चालनमा ल्याइने उनको भनाइ छ। उनले अस्पतालसँग सम्बन्धित कर्मचारीको रोजगारी सुरक्षित रहने पनि स्पष्ट पारे।
यसैबीच, प्रदेश सरकारले लम्कीचुहा प्रादेशिक अस्पताल विकास समितिको अध्यक्षमा रामबहादुर बिष्ट तथा सदस्यहरूमा ससिरा शाही, धिरेन्द्र थापा, भीम थारु र हिमाल स्वाँरलाई नियुक्त गरेको छ।
आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रमअनुसार प्रदेश मातहतका अस्पतालहरूको स्तरोन्नति गर्ने क्रममा बाजुराको कोल्टी, दार्चुलाको गोकुलेश्वर, डडेल्धुराको जोगबुढा र कैलालीको लम्कीचुहा अस्पताललाई प्रदेशस्तरीय अस्पतालका रूपमा विकास गर्ने योजना अघि बढाइएको थियो।
लम्कीचुहा नगरपालिकाको पहलमा अस्पताललाई ५० शैय्याको प्रादेशिक अस्पतालका रूपमा सञ्चालन गर्न सिफारिस गरिएको थियो। त्यसपछि प्रदेश सरकार र नेपाल सरकारको मन्त्रिपरिषद् निर्णयमार्फत अस्पताललाई प्रदेश सरकार मातहत सञ्चालन गर्न स्वीकृति दिइएको हो।