कैलाली बहुमुखी क्याम्पसमा तेस्रो राष्ट्रिय प्राज्ञिक अनुसन्धान सम्मेलन सम्पन्न
धनगढीः कैलाली बहुमुखी क्याम्पसमा रिसर्च म्यानेजमेन्ट सेलको आयोजनामा शुक्रबार र शनिबार दुईदिने तेस्रो राष्ट्रिय प्राज्ञिक अनुसन्धान सम्मेलन सम्पन्न भएको छ।
‘दिगो विकासका लागि रैथाने ज्ञान, उद्यमशीलता र नवप्रवर्तन’ मुख्य विषयमा आयोजना गरिएको सम्मेलनमा देशभरका विभिन्न विश्वविद्यालय र क्याम्पसका प्राध्यापक, अनुसन्धानकर्ता तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो।
सम्मेलनको पहिलो दिन त्रिभुवन विश्वविद्यालयअन्तर्गत केन्द्रीय भौतिकशास्त्र विभागका प्राध्यापक डा. राजु खनालले ‘दिगो विकासका लागि नवप्रवर्तनः भौतिकशास्त्रदेखि सामाजिक प्रभावसम्म’ विषयमा मुख्य वक्तव्य प्रस्तुत गरेका थिए। उनले वैज्ञानिक अनुसन्धानलाई प्रयोगात्मक र सामाजिक आवश्यकतासँग जोड्दै दिगो विकासमा नवप्रवर्तनको भूमिका महत्वपूर्ण हुने धारणा राखेका थिए।
यसैगरी, सुदूरपश्चिम विश्वविद्यालयका पूर्व रजिस्ट्रार तथा प्राज्ञ प्राध्यापक डा. हेमराज पन्तले ‘सुदूरपश्चिम प्रदेशमा उद्यमशील वातावरण प्रवर्द्धनका लागि नीतिगत हस्तक्षेप’ विषयमा मुख्य प्रस्तुति दिएका थिए। उनले प्रदेशस्तरमा उद्यमशीलता विकासका लागि नीतिगत सुधार, शैक्षिक–उद्योग सहकार्य र अनुसन्धानमैत्री वातावरण आवश्यक रहेको बताए।
पूर्ण सत्र अन्तर्गत रिसर्च म्यानेजमेन्ट सेलका प्रमुख तथा कैलाली बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख सहप्राध्यापक डा. मोहन सिंह साउदले ‘औपनिवेशिक मानसिकताको विमुक्तिः ज्ञान, संस्कृति र शिक्षाको पुनर्विचार’ विषयमा प्रस्तुति दिएका थिए। उनले औपनिवेशिक सोचबाट मुक्त भई स्थानीय ज्ञान प्रणाली र सांस्कृतिक पहिचानलाई शिक्षासँग जोड्नुपर्नेमा जोड दिए।
नेपाल संस्कृत विश्वविद्यालय, केन्द्रीय विद्यापीठका सह–प्राध्यापक डा. रघुनाथ नेपालले ‘सुसभ्य समाज निर्माणमा संस्कृत वाङ्मयको उपादेयता’ विषयमा प्रस्तुति दिएका थिए। उनले संस्कृत वाङ्मयमा निहित नैतिक मूल्य, सामाजिक सद्भाव र जीवनदर्शनले आधुनिक समाज निर्माणमा महत्वपूर्ण योगदान दिन सक्ने बताए।
सम्मेलनको मुख्य विषयसँग सम्बन्धित ‘सामाजिक पहिचान र दिगोपनाका लागि रैथाने ज्ञानको हस्तान्तरण’ शीर्षकमा प्यानल छलफल पनि गरिएको थियो। प्यानल छलफलको संयोजन डा. ज्ञानुराज पौडेलले गरेका थिए। छलफलमा डा. नाथुराम चौधरी, डा. विष्णु कुमार खड्का, डा. खिमराज सुवेदी र डा. नानी बाबु घिमिरेले रैथाने ज्ञान, सामाजिक पहिचान र दिगो विकासबीचको अन्तरसम्बन्धका विषयमा आ–आफ्ना धारणा राखेका थिए।
सम्मेलनको दोस्रो दिन डा. इन्द्रमणि राईले ‘आधुनिक शिक्षामा रैथाने ज्ञान समायोजनको द्वन्द्वः ज्ञानिक न्यायतर्फको रूपान्तरणात्मक दृष्टिकोण’ विषयमा मुख्य प्रस्तुति दिएका थिए। उनले आधुनिक शिक्षा प्रणालीमा रैथाने ज्ञानको उचित समायोजन आवश्यक रहेको उल्लेख गर्दै ज्ञानिक न्यायको अवधारणालाई जोड दिए।
पूर्ण सत्र अन्तर्गत डा. यदु प्रसाद ज्ञवालीले ‘पेशागत विकासका लागि रूपान्तरणात्मक उपकरणका रूपमा कृत्रिम बुद्धिमत्ता’ विषयमा प्रस्तुति दिएका थिए। उनले शिक्षा र पेशागत विकासमा कृत्रिम बुद्धिमत्ताको प्रयोगले क्षमता अभिवृद्धि र दक्षता विकासमा सहयोग पुग्ने बताए।
त्यसैगरी, डा. दीपक चन्द्र भट्टले ‘नेपालमा ग्रामीण जनसंख्या घट्दो अवस्था र विकास योजनाको संकटः बसोबास, बसाइँसराइ र स्थानिक लगानीको पुनर्विचार’ विषयमा प्रस्तुति दिएका थिए। उनले ग्रामीण क्षेत्रबाट भइरहेको बसाइँसराइले विकास योजनामा पारेको असरबारे विश्लेषण प्रस्तुत गरेका थिए।
डा. शिला मैनालीले ‘शिक्षक तथा प्राज्ञिक समुदायमा मानसिक स्वास्थ्य र कल्याण प्रवर्द्धनः बर्नआउट समस्या रोकथाममा केन्द्रित सत्र’ विषयमा प्रस्तुति दिँदै शैक्षिक क्षेत्रमा मानसिक स्वास्थ्यप्रति गम्भीर ध्यान दिनुपर्ने आवश्यकता औंल्याइन्।
रिसर्च म्यानेजमेन्ट सेलका प्रमुख तथा सहायक क्याम्पस प्रमुख सहप्राध्यापक डा. मोहन सिंह साउदले अनुसन्धानात्मक ज्ञानका आधारमा नीति निर्माणमा सघाउन प्राज्ञिक क्षेत्रका व्यक्तिहरूले अनुसन्धान गतिविधिमा अझ सशक्त रूपमा जोड दिनुपर्ने बताए।
क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष सन्तोष पन्तले विश्वविद्यालयले प्राध्यापकहरू मात्र नभई विद्यार्थीहरूलाई समेत अनुसन्धानात्मक क्रियाकलापमा सहभागी गराई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए।
विश्वविद्यालय प्राध्यापक संघका सभापति प्राध्यापक डा. राजेन्द्रबीर चन्दले समाजमा विद्यमान जटिल समस्याको समाधानमा प्राध्यापकहरूको पनि दायित्व रहेको उल्लेख गर्दै केवल सैद्धान्तिक अनुसन्धानमा सीमित नरही रैथाने ज्ञान र प्रविधिको उपयोगमार्फत गरिबी, बेरोजगारीजस्ता समस्याको समाधानतर्फ उन्मुख अनुसन्धान गर्नुपर्ने बताए।
सुदूरपश्चिम विश्वविद्यालयका अनुसन्धान निर्देशक प्राध्यापक डा. दमन बहादुर चलाउनेले सम्मेलनले उठान गरेका विषयवस्तुले विश्वविद्यालयको बौद्धिक र तार्किक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे।
त्यसैगरी, सुदूरपश्चिम विश्वविद्यालय व्यवस्थापन संकायका डीन प्राध्यापक डा. पदमराज जोशीले पर्याप्त अनुसन्धान गतिविधि सञ्चालनका लागि अनुसन्धान कोष स्थापना गरी अन्तर्राष्ट्रियस्तरको अनुसन्धानतर्फ अघि बढ्नुपर्ने बताए।
शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपतिले अन्तर्राष्ट्रिय स्तरबाट अनुसन्धान कोष आकर्षित गर्न विद्यार्थी केन्द्रित अनुसन्धान सम्मेलन गर्ने वातावरण निर्माण गर्न सुझाव दिए।
सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा.सुनिलकुमार जोशीले प्राध्यापक डा. हेमराज पन्तले विश्वविद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि अनुसन्धान, कार्यपत्र प्रकाशन तथा प्रस्तुतिमा बौद्धिक लगानी बढाउनुपर्ने आवश्यकता औंल्याए।
प्रमुख अतिथि विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्राध्यापक डा. देवराज अधिकारीले दिगो विकास लक्ष्यसँग जोडेर सम्मेलन आयोजना गरिएकोमा आयोजकलाई धन्यवाद दिँदै समन्वयात्मक तथा परिणाममुखी अनुसन्धानका प्रस्ताव आउनुपर्ने बताए। उनले नयाँ दृष्टिकोणबाट अनुसन्धान गर्दै रैथाने ज्ञानको संरक्षण र प्रवर्द्धनमा जोड दिनुपर्ने तथा उच्च शिक्षामा आमूल परिवर्तन गर्ने समय आएको उल्लेख गरे।
सामाजिक विकास मन्त्रालय, सुदूरपश्चिम प्रदेशका सचिव डा. हेमराज जोशीले तथ्यमा आधारित योजना निर्माणका लागि प्रदेश सरकारले अनुसन्धानमा लगानी बढाउनुपर्ने समय आएको भन्दै मन्त्रालयले शैक्षिक संस्था र प्राध्यापकहरूसँग सहकार्य गरिरहेको बताए।
क्याम्पस प्रमुख प्राध्यापक डा. लोक बहादुर बिष्टले क्याम्पसको अनुसन्धानात्मक गतिविधिले सामाजिक समस्या समाधानमा सहयोग पुर्याउने विश्वास व्यक्त गर्दै अनुसन्धानलाई अझ व्यवस्थित र निरन्तर बनाइने बताए।
दुई दिनसम्म चलेको सम्मेलनमा देशका विभिन्न विश्वविद्यालय र क्याम्पसका ८४ जना प्राध्यापक, विद्यार्थी तथा अनुसन्धानकर्ताहरूले आ–आफ्ना कार्यपत्र प्रस्तुत गरेका थिए।