सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा सुत्केरी महिला र नवजात शिशुको मृत्यु

२०८२ चैत्र ९, १०:५२ खबर संवाददाता

बाजुराः बाजुरामा नवजात शिशु सहित सुत्केरी महिला मृत्यु भएको छ।

मृत्यु हुनेमा बडीमालिका नगरपालिका–१ सल्लेनाकीकी २१ वर्षीय सुरता कुमारी रोकाया र उनले जन्म दिएको एक नवजात शिशु रहेका छन्। रोकायाले केही दिनअघि जिल्ला अस्पताल बाजुरामा शिशु जन्माइन्। आमा र शिशुको स्वास्थ्यमा समस्या बढेपछि उनलाई थप उपचारका लागि हेलिकप्टरमार्फत प्रादेशिक अस्पताल सुर्खेत पठाइएको थियो।

जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी नृपराज गिरीका अनुसार, “उहाँ मुटुको रोगबाट पीडित हुनुहुन्थ्यो। २०७९ सालमा काठमाडौंमा उपचार भएको थियो र डाक्टरले बच्चा जन्माउनु नहुने सुझाव दिएका थिए। तर, उहाँले बच्चा जन्माउनु भयो। आईसियुको राम्रो सुविधा भएको ठाउँमा सुत्केरी गराइएको भए केही सहज हुने थियो, तर यहाँ त्यस्तो सुविधा थिएन।”

जिल्ला प्रशासन कार्यालय बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मण पुडासैनीले जानकारी दिनुभयो, “चैत ४ गते उपचारका लागि हेलिकप्टरमार्फत सुर्खेत पठाइएको थियो। उता उपचारकै क्रममा चैत ५ गते नवजात शिशुको र ७ गते बेलुकी आमाको मृत्यु भएको हो।”

बडीमालिका नगरपालिका उपप्रमुख नन्दा थापाले भनिन्, “शव बाजुरामा ल्याउने योजना थियो, तर परिवार र स्थानीय केही सहयोगीको आग्रहमा आमा र छोराको दाहसंस्कार सुर्खेतमै गरिएको हो।” हाल सुरता रोकाया र नवजात शिशुको शव व्यवस्थापनका लागि नगरपालिकाले पहल गरेको छ। थप जानकारी पर्खिनुपर्ने अवस्था रहेको छ।

कमेन्ट लोड गर्नुस