बर्दियामा लागुऔषधविरुद्ध प्रदर्शन हिंसात्मक, प्रहरी–स्थानीय झडपमा ११ प्रहरी घाइते
काठमाडौं: बर्दियाको गुलरिया नगरपालिका–११ गणेशपुरमा लागुऔषधविरुद्ध भएको प्रदर्शनका क्रममा स्थानीय र प्रहरीबीच झडप हुँदा ११ जना प्रहरी घाइते भएका छन्। झडपमा केही स्थानीय पनि घाइते भएका छन्।
प्रदर्शनपछि बन्द गरिएको हुलाकी सडक खुलाउन पुगेका प्रहरीमाथि ढुंगा प्रहार भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले ९ राउन्ड हवाई फायर र ४ राउन्ड अश्रुग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी डीएसपी प्रमेश विष्टले जानकारी दिए।
घटनास्थलबाट प्रहरीले सात जनालाई नियन्त्रणमा लिएको छ। झडपका क्रममा प्रहरीका सहायक हवलदार सन्तोष विक गम्भीर घाइते भएका छन् र उनको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।
केही समययता भारतबाट भित्रिएको ब्राउन सुगर, कोरेक्स लगायत लागुऔषध सेवनका कारण दुई जनाको मृत्यु भएपछि आक्रोशित स्थानीय सडकमा उत्रिएका थिए। उनीहरूले भारतको सीमावर्ती लौकही बजार जाने नाका बन्द गर्नुपर्ने र लागुऔषध कारोबारमा संलग्नमाथि कडा कारबाही गर्नुपर्ने माग राख्दै सडक अवरुद्ध गरेका थिए।
स्थानीयका अनुसार क्षेत्र लागुऔषधको केन्द्र बन्दै गएकाले नाका पूर्ण रूपमा बन्द गर्नुपर्ने उनीहरूको मुख्य माग रहेको छ।