सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा ३,८१२ एचआईभी संक्रमित एआरटी उपचारमा, नयाँ संक्रमण घट्दो क्रममा

एआइ प्रविधिबाट निर्मित तस्विर
एआइ प्रविधिबाट निर्मित तस्विर
२०८२ चैत्र ११, ११:२७ खबर संवाददाता


धनगढीः आयोजित एक कार्यक्रममा सुदूरपश्चिम प्रदेशमा हाल ३ हजार ८१२ जना एचआईभी संक्रमित एआरटी (Antiretroviral Therapy) उपचारमा रहेको तथ्य सार्वजनिक गरिएको छ। स्वास्थ्य निर्देशनालय, डोटीको आयोजना र एड्स हेल्थ केयर फाउण्डेशन (एएचएफ) नेपालको सहयोगमा भएको मिडिया अन्तरक्रियामा उक्त जानकारी दिइएको हो।

कार्यक्रममा प्रस्तुत विवरणअनुसार कैलाली जिल्लामा सबैभन्दा बढी १ हजार ८०२ जना संक्रमित उपचारमा छन्। त्यसपछि अछाममा ५६६, डोटीमा ४९१, कञ्चनपुरमा ४७३, डडेल्धुरामा १२३, बैतडीमा १०३, बझाङमा ९७, बाजुरामा ७२ र दार्चुलामा ५१ जना संक्रमित एआरटी सेवामा आबद्ध रहेका छन्।

स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्ला वर्षहरूमा नयाँ एचआईभी संक्रमणका केसहरू घट्दै गएका छन्। संक्रमितमध्ये करिब ९४ प्रतिशत व्यक्ति स्वास्थ्य बीमामा आबद्ध भइसकेका छन्।

कार्यक्रमको उद्देश्य एचआईभीको वर्तमान अवस्था, जोखिम समूह, उपलब्ध सेवा र चुनौतीबारे सञ्चारमाध्यममार्फत जनचेतना फैलाउनु रहेको जनाइएको छ। नेपालमा पहिलो एचआईभी संक्रमित सन् १९८८ मा पहिचान भएको उल्लेख गर्दै विशेषज्ञहरूले प्रारम्भिक परीक्षण, नियमित उपचार र क्षयरोगसँगको सह–संक्रमण नियन्त्रणमा विशेष ध्यान दिनुपर्ने बताएका छन्।

सुदूरपश्चिम प्रदेशलाई उच्च प्रभावित क्षेत्रका रूपमा चिनाउँदै भारततर्फ हुने वैदेशिक रोजगारीका कारण संक्रमणको जोखिम बढी रहेको औंल्याइएको छ। जोखिम समूहमा भारत जाने श्रमिक, उनीहरूका जीवनसाथी, महिला यौनकर्मी, लागुऔषध प्रयोगकर्ता, समलिंगी पुरुष तथा तेस्रो लिंगी समुदाय रहेका छन्।

प्रदेशभर हाल १९ वटा एचआईभी परीक्षण तथा परामर्श केन्द्र, १९ वटा एआरटी सेवा केन्द्र र ३ वटा भाइरल लोड परीक्षण केन्द्र सञ्चालनमा छन्। साथै, क्षयरोग र एचआईभीको एकीकृत सेवा पनि उपलब्ध छ।

एएचएफले नेपालमा एचआईभी रोकथाम, परीक्षण, उपचार तथा हेरचाहमा सहयोग गर्दै आएको छ। संस्थाले देशभर १९ वटा एआरटी केन्द्र र दुई सीमा नाकामा सहकार्य गर्दै सेवा विस्तारमा योगदान पुर्‍याएको छ भने सुदूरपश्चिममा चार एआरटी केन्द्रमार्फत प्रत्यक्ष सहयोग प्रदान गरिरहेको छ।

कार्यक्रममा सहभागी मिडियाकर्मीहरूले एचआईभी रोकथाम, उपचारमा पहुँच र सामाजिक भेदभाव न्यूनीकरणबारे चासो व्यक्त गरेका थिए। वक्ताहरूले सही सूचना प्रवाह र जनचेतना विस्तारमा मिडियाको भूमिका महत्वपूर्ण रहेको बताए।

कमेन्ट लोड गर्नुस