डडेल्धुरा अस्पतालले पायो चार विशेषज्ञ चिकित्सक
धनगढीः डडेल्धुरा अस्पतालमा दरबन्दी भएका तर काजमा प्रदेश सरकार मातहतका अस्पतालममा खटिएका चार जना चिकित्सकको काज फिर्ता भएको छ। डडेल्धुरा अस्पतालमा विशेषज्ञ सेवाको उपलब्धता सुनिश्चित गर्न, लामो समयदेखि शक्तिको आडमा सुगममा बस्दै आएका चार जना चिकित्सकको काज फिर्ता गरिएको हो।
आम सर्वसाधारणले आफ्नै क्षेत्रमा विशेषज्ञ उपचार पाउने वातावरण निर्माण गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सकको काज फिर्ता गरेको जनाएको छ।
मन्त्रालयले पहिलो चरणमा डडेल्धुरा, वीरगंज र सप्तरीका अस्पतालहरूलाई प्राथमिकतामा राखेर काज फिर्ताको निर्णय गरेको छ।
डडेल्धुरा अस्पतालमा चार जना विशेषज्ञ चिकित्सक फिर्ता भएका छन्। नारायणी अस्पताल वीरगंजमा ५ जना र गजेन्द्र नारायण सिंह अस्पताल सप्तरीमा ५ जना विशेषज्ञ चिकित्सक फिर्ता भएका छन्।
डडेल्धुरा अस्पताल काज फिर्ता हुनेमा मेडिकल सुपरिटेण्डेण्ट (अधिकृत नवौँ) डा. सन्तोष कुमार गुप्ता छन्। उनी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सुदूरपश्चिम प्रदेश अन्तर्गतको अस्पतालमा काजमा कार्यरत थिए।
यस्तै,कन्सल्टेण्ट डर्माटोलोजिष्ट (अधिकृत नवौँ) डा. मिसन्ता शर्मा हाल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा कार्यरत रहेकोमा उनको काज डडेल्धुरा अस्पतालमा फिर्ता भएको छ।
यसैगरी कन्सल्टेण्ट सर्जन (अधिकृत नवौँ) डा. नविन चन्द्र भट्ट र वरिष्ठ कन्सल्टेण्ट रेडियोलोजिष्ट (अधिकृत दशौँ) डा. सुयोग्य वाग्लेको डडेल्धुरा अस्पतालमा काज फिर्ता भएको छ।
दुर्गम जिल्लाका सङ्घीय अस्पतालमा दरबन्दी रहेका केही चिकित्सक काजमा सुगम जिल्लाका अस्पतालमा बस्दै आएका छन्। उनीहरूले राजनीतिक पहुँच र शक्तिको भरमा लामो समयसम्म प्रदेश सरकार मातहतका अस्पतालमा काम गर्दै आएका छन्।
प्रदेश मातहतका अस्पताल र स्वास्थ्य संस्थामा लामो समयसम्म बस्ने गरेका कारण दुर्गम जिल्लामा रहेका नागरिकले स्वास्थ्य उपचार नपाउने अवस्था रहेको भन्दै नयाँ मन्त्रीले सुगम जिल्लामा काजमा खटिएका चिकित्सकहरूको काज फिर्ता गर्न थालेको बताइएको छ।