प्रादेशिक आयुर्वेदिक अस्पतालको निर्माण कार्य प्रभावित ( भिडियो रिर्पोट सहित)
विकास निर्माणका योजनाहरु धमाधम सञ्चालन गरिएपछि मजदुरहरुको अभाव
आर्थिक वर्ष सकिने समयमा विकास निर्माणका योजनाहरु धमाधम सञ्चालन गरिएपछि मजदुरहरुको अभाव हुन थालेको छ । दर्जनौ ठुला योजनाहरु एकै पटक सञ्चालन भएका वेला मजदुरहरु कम परिरहेका वेला स्थानीय तहहरुले पनि विकासे वजेटका योजनाहरु कार्यान्वयन गरेपछि मजदुर अभावले विकास निर्माणका योजनाहरु प्रभावित भएका हुन । गेटा मेडिकल कलेजमा पनि मजदुर अभावले काम प्रभावित भएका वेला सो पछिको ठुलो योजना प्रादेशिक आयुर्वेदिक अस्पतालको निर्माण कार्य पनि प्रभावित भएको छ । फागुन अन्तिम सातादेखि निर्माण सुरु गरिएको ५० शैयाको प्रादेशिक आयुर्वेदिक अस्पतालको निर्माण कार्य चलिरहे पनि निर्माणको काम गर्ने मजदुरहरुको अभाव चर्किदै गर्दा निर्माणको काम आशा गरे अनुसार सञ्चालन भएको छैन् ।
अवको ढाई वर्षदेखि सेवा सुरु गर्ने लक्ष्यका साथ फागुन अन्तिम सातादेखि धनगढीको राजपुरमा ५० शैयाको क्षेत्रीय आयुर्वेदिक अस्पतालको निर्माण सुरु भएकोमा हाल आएर मजदुर अभाव हुन थालेको हो । धनगढी उप–महानगरपालिका वडा नम्वर १३ राजपुरमा ५० शैयाको आयुर्वेद अस्पतालको निर्माण सुरु भएपछि विकास निर्माणका योजनाहरु वढ्दै जाँदा मजदुर अभावले आयुर्वेदिक अस्पतालको कामलाई तिव्रता दिन सकिएको छैन् । झण्डै १६ करोडको लगानिमा ३ वटा भवन निर्माणका लागि गौरी पार्वती एमके जेभीले ठेक्का सम्झौता गरेर निर्माणको काम सुरु गर्दा अहिले मजदुर अभावको समस्या आउन थालेको निर्माण कम्पनीका एक जना निर्माण व्यवसायी चन्द्र शाहले वताए ।
जग्गा प्राप्तिमा विवाद भएपछि लामो समयदेखि अलपत्र परेको क्षेत्रीय आयुर्वेदिक अस्पतालको निर्माणको काम गर्नका लागि कुनै कठिनाई छैन । सो जग्गामा रहेका केही रुखहरु काट्नुपर्ने अवस्था रहेकोले भोलीका दिनमा त्यसले समस्या निम्ताउने अवस्था रहेकोमा अहिले खाली जग्गामा निर्माण कार्यलाई गति दिन समस्या छैनन् । तर मजदुर अभाव रहेकोले सवैको सहयोग हुँदा पनि निर्माण कार्यलाई अझ रफ्तारमा लैजान नसकिएको आयुर्वेद अस्पताल विकास समितीका अध्यक्ष भोजराम रानाले वताए ।
प्रादेशिक आयुर्वेदिक अस्पताल अन्तरगत ३ वटा भवन निर्माणका लागि निर्माण व्यवसायीलाई ३० महिनाको समय दिईएको छ । अहिले प्रदेश नम्वर ७ मा आयुर्वेदको अस्पताल नरहेका बेला पञ्चकर्म योगा सहितको ५० शैयाको अस्पताल स्थापना भएपछि यस क्षेत्रका बासिन्दालाई बिशेषज्ञ सेवा दिने उद्देश्य राखिएकोमा चालु आर्थिक वर्षमा ३ करोड वरावरको निर्माण काम सम्पन्न गराउने लक्ष्य रहेको छ । सरकारले दिने रकमलाई आगामी आर्थिक वर्षमा वढाउन सकेमा अस्पतालको काम अझ तिव्र गतिमा जान सकिने अवस्था रहेको छ । त्यसका लागि पहल गरिरहेको आयुर्वेदिक चिकित्सक डाक्टर खगेन्द्र वमले जानकारी दिए ।
तोकिएको निर्माण समयमा प्रादेशिक आयुर्वेदिक अस्पतालमा १३ जना विशेषज्ञ डाक्टहरुले स्वास्थ्य सेवा दिनेछन । यसले प्रदेश नम्वर ७ का विरामीहरुलाई आयुर्वेदिक चिकित्सा मार्फत उपचारको सेवा पाउनेछन ।