काँग्रेसको १५औँ महाधिवेशनका लागि ७७ वटै जिल्लामा प्रतिनिधि खटिए
काठमाण्डौः नेपाली कांग्रेसले आफ्नो १५औँ महाधिवेशनको औपचारिक तयारी शुरू गरेको छ। आजदेखि ७७ वटै जिल्लामा सदस्यता अभियान र सांगठनिक सुदृढीकरणका लागि प्रतिनिधिहरू खटाउँदै कांग्रेसले महाधिवेशनको प्रक्रिया अगाडि बढाएको हो ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित अभिमुखीकरण कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै महामन्त्री प्रदीप पौडेलले ‘जरा अभियान’ सञ्चालन गरिएको जानकारी दिए। जिल्लामा खटिएका प्रतिनिधिहरूले वैशाख महिनाभर बसेर सदस्यता वितरण, अद्यावधिक र सांगठनिक अवस्थाको प्रतिवेदन तयार पार्नेछन् ।
पुराना क्रियाशील सदस्यहरूले वैशाख महिनाभित्र अनिवार्य रूपमा सदस्यता अद्यावधिक गर्नुपर्नेछ । पार्टीले यसपटक सबै सदस्यलाई कांग्रेस आईडी प्रदान गर्नेछ र यो परिचयपत्र नभएका व्यक्तिहरूले १५औँ महाधिवेशनमा भाग लिन पाउने छैनन् ।
नयाँ सदस्यका लागि भने डिजिटल माध्यमबाट सदस्यता दिने व्यवस्था मिलाइएको छ । जरा अभियान अन्तर्गत महाधिवेशनको तयारी, सांगठनिक सुदृढीकरण, गएको चुनावको समीक्षा र पार्टीलाई सामाजिक गतिविधिमा जोड्ने गरी चार मुख्य विषय समेटिएका छन् ।
केन्द्रीय सभापतिको नेतृत्वमा राष्ट्रिय स्तरमा वुद्धिजीवी र पेशाकर्मीहरूसँग संवाद हुनेछ भने जिल्ला तहमा स्थानीय समीक्षा कार्यक्रम सञ्चालन गरिनेछन् । प्रतिनिधिहरूलाई आवश्यक निर्देशिका, कार्यविधि र फारमसहित जिल्ला पठाइसकिएको र वैशाखभर सदस्यता अद्यावधिकको काम व्यापक रूपमा अगाडि बढ्ने महामन्त्री पौडेलले बताए।