अब राज्यको आँखा दार्चुलातर्फ दौडनुपर्छ: हर्क साम्पाङ
धनगढीः श्रमदानमार्फत दार्चुलामा पुल निर्माणको थालनी गर्दै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राई काठमाडौं फर्किएका छन् । उनले दार्चुलाबाट गहिरो चोट लिएर काठमाडौं फर्किरहेको बताएका छन् । आफू पीडाबोध यथार्थको तथा हराएका नेपाली खोज्ने यात्राअन्तर्गत दार्चुला पुगेको र गहिरो चोट लिएर राजधानी फर्किरहेको उनको भनाई छ।
‘जहाँ म पुगेँ त्यहाँबाट पालिका कार्यालय पुग्न ६ घण्टा हिँडेर जानुपर्ने रहेछ,’ सामाजिक सञ्जालमा साम्पाङले लेखेका छन्, ‘बाटोमा ढुङ्गा खस्ने जोखिम हुने रहेछ भने जिल्लाको सदरमुकाम पुग्न एकदेखि डेढ दिन लाग्ने रहेछ । फोन नलाग्दो रैछ । बिजुली प्रसारण पनि छैन । स्वास्थ्य चौकी पुग्न चार घण्टा हिँडेर जानपर्ने, बजार सदरमुकाममा मात्रै रहेछ, र जान एकदिन लाग्ने । विद्यालय आधारभूत तहसम्म रहेछ ।’
उनले १५ जना सशस्त्र प्रहरी र ५–६ जना नेपाल प्रहरी देख्दा मात्रै त्यो नेपाल हो भन्ने राज्यको उपस्थिति महसुस हुने गरेको बताएका छन् । ‘संसारको यस्तो कुना जहाँ सयौं वर्षदेखि मानिसहरू विकासको पर्खाइमा तुइनबाट खस्दै महाकालीमा बिलिन हुँदै जीवन जिइरहेका छन्,’ साम्पाङले भने, ‘घरैपिच्छे एक–दुई जना तुइन चुँडिएर महाकालीमा खसेका रहेछन् । सुत्केरी बुहारीलाई औषधि किन्न भनी बजार गएका छोरा तुइन चुँडिएर महाकालीमा बिलाए, कहिल्यै फर्केन भन्दै एउटी आमाले विलौना गर्दा भक्कानिएको हृदयमा गहिरो चोट लिएर काठमडौं फर्कंदै छु आज । कहिल्यै घाम नलागेको तोसारोले छोपिएको पाखामा कठाङग्रिएको घामको न्यानो खोजिरहेका ती आँखाहरूको सपना मैले पनि मेरो आँखामा सजाएर काठमाडौं फर्किंदै छु ।’ उनले लेखेका छन्।
संसद बैठक र अनेकन जिम्मेवारीले गर्दा फर्कन बाध्य भएको बताउँदै साम्पाङले जीवनभर त्यो ठाउँमा बसेर गिट्टी कुट्ने मन लागेको बताएका छन् । ‘यो कुनै यात्रा थिएन मेरो लागि, यो थियो एउटा पीडाबोध यथार्थको खोज, हराएका मेरा नेपाली दाजुभाइ दिदीबहीनीलाई खोज्ने यात्रा,’ साम्पाङले भने, ‘श्रमदानको अभियानमार्फत अब हामी जोडिएका छौँ । पूर्व र पश्चिमलाई जोड्ने एउटा संकल्प । अब मैले भन्नुपर्ने र भनिरहनुपर्ने केही रहेन । अब राज्यको आँखा त्यता दौडनुपर्छ । दार्चुला नेपालको अभिन्न र प्रमुख स्थानमध्ये एक बन्नुपर्छ ।’
२४ चैतमा प्रतिनिधिसभा सदस्यसमेत रहेका साम्पाङले दार्चुला पुगेर पुलको शिलान्यास गरेका थिए । उनले ब्यास गाउँपालिका– २ स्थित दुम्लिङमा रहेको घट्टेखोलामा झोलुङ्गे पुलको शिलान्यास गरेका हुन् । नेपाल–भारत सीमा नदी महाकालीमा पुल निर्माणको चर्चा भइरहेकोमा सीमानजिकै रहेको खोलामा पुलको शिलान्यास गरिएको भन्दै साम्पाङको आलोचना पनि भइरहेको छ । साम्पाङले महाकालीमा पनि पुल निर्माणका लागि पहल गर्ने बताएका छन् ।