एक्लै अपराधी नियन्त्रण गर्ने महिला प्रहरी शाहाना बोहरा पुरस्कृत
काठमाडौँ: सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्रको ११–८३ औँ समूहबाट दीक्षित भई हाल उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा कार्यरत महिला प्रहरी जवान शाहाना बोहरा साहसिक कार्यका लागि पुरस्कृत भएकी छन्।
ललितपुरको मंगलबजार क्षेत्रमा दाजुभाइको हत्या गरी हतियारसहित फरार भइरहेको खतरनाक अपराधीलाई उनले एक्लै लखेटेर नियन्त्रणमा लिन सफल भएकी थिइन्।
घटना अत्यन्त संवेदनशील र जोखिमपूर्ण भए पनि बोहराले ज्यानको प्रवाह नगरी कर्तव्यनिष्ठ रूपमा अपराधीको सामना गरेकी थिइन्। उनको यही साहसिक कार्यको उच्च मूल्यांकन गर्दै उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले उनलाई पुरस्कृत गरेको हो।
कैलाली घर भएकी बोहरा हाल काठमाडौं उपत्यकामा सक्रिय रूपमा प्रहरी सेवामा कार्यरत छिन्।