सुदूर नेपाललाई विश्वसँग जोड्दै

सीमा सुरक्षामा कडाइ : कैलाली–कञ्चनपुरमा सशस्त्र प्रहरीको जनशक्ति थप

२०८२ चैत्र २८, ०४:२८ खबर संवाददाता

धनगढी: सुदूरपश्चिम प्रदेशअन्तर्गत कैलाली र कञ्चनपुर जिल्लाको सीमा क्षेत्रमा सशस्त्र प्रहरी बल, नेपालले सुरक्षा व्यवस्था सुदृढ बनाउन थप जनशक्ति परिचालन गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नं. ७ वैद्यनाथ बाहिनी मुख्यालय, अत्तरिया कैलालीले सीमा सुरक्षालाई प्रभावकारी बनाउन यो कदम चालिएको जनाएको हो।

मुख्यालयका अनुसार ३० जनाको टोली दिनमा र ३० जनाको टोली रातमा परिचालन गरिएको छ भने थप ३० जनाको टोली स्ट्यान्डबाइ राखिएको छ। यी सबै जनशक्ति हाल कैलाली र कञ्चनपुरका विभिन्न सीमा क्षेत्रमा परिचालन गरिएको जनाइएको छ।

कैलालीस्थित सशस्त्र प्रहरी बल नेपाल नं. ३४ गण हेक्वा र कञ्चनपुरस्थित नं. ३५ गण हेक्वाबाट उक्त जनशक्ति खटाइएको हो। निमित्त बाहिनीपति सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक दिगविजय सुवेदीका अनुसार सीमा क्षेत्रमा रहेका सुरक्षा इकाइहरूको अनुगमन, अवैध चोरी–तस्करी नियन्त्रण तथा समग्र सीमा सुरक्षालाई थप मजबुत बनाउन जनशक्ति बढाइएको हो।

उनले अनुगमनका क्रममा सम्भावित विपद् जोखिम क्षेत्रको अध्ययन–विश्लेषण गरिने र विद्यालय तथा समुदायमा विपद् सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने जानकारी दिए। आवश्यकता अनुसार आगामी दिनमा थप जनशक्ति परिचालन गर्ने योजना पनि रहेको उनले बताए।

सशस्त्र प्रहरीले सीमा क्षेत्रमा दशगजा आसपास एकल गस्तीका साथै भारतीय समकक्षी सशस्त्र सीमा बलसँग संयुक्त गस्तीलाई समेत दोब्बर बनाएको जनाएको छ।

यसअघि गृहमन्त्री सुधन गुरुङले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको निरीक्षणका क्रममा सीमा क्षेत्रमा जनशक्ति थप गरी प्रभावकारी परिचालन गर्न निर्देशन दिएका थिए। त्यस्तै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले पनि कैलाली सीमा क्षेत्रको स्थलगत अवलोकन गर्दै कडाइका साथ नतिजामुखी कार्य गर्न निर्देशन दिएका थिए।

कमेन्ट लोड गर्नुस