सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी-२ मा पार्क निर्माण हुँदै, स्थानीय उत्साहित

२०८३ वैशाख २, ०६:३७

लक्ष्मण ढुङ्गालः धनगढी उपमहानगरपालिका–२ बैयाबेहडी क्षेत्रमा निर्माण भइरहेको पार्कले स्थानीय बासिन्दामा उत्साह र आशा थपिएको छ। पार्क निर्माण सम्पन्न भएपछि उक्त क्षेत्रको व्यापार–व्यवसायमा वृद्धि हुने अपेक्षासहित स्थानीयहरू खुशी देखिएका छन्।

पार्क तयार भएपछि फोटो खिच्ने, टिकटक तथा भिडियो सामग्री बनाउने मानिसहरूको आवतजावत बढ्ने अनुमान गरिएको छ, जसले गर्दा बजार क्षेत्रमा चहलपहल बढ्ने विश्वास गरिएको छ। यसै कारणले आसपासका बासिन्दाहरू किराना पसल, होटल लगायतका व्यवसाय विस्तार गर्न उत्साहित छन्।

सडक छेउमै घर भएकी स्थानीय रितु चौधरीले पनि पार्क निर्माणले आफूलाई व्यवसाय सुरु गर्न प्रेरणा दिएको बताइन्। उनले पार्क छिट्टै सम्पन्न भए पसल खोल्ने योजना रहेको बताइन्। त्यस्तै अर्की स्थानीय रेश्मा चौधरीले पनि चटपट, पानीपुरी तथा घरेलु उत्पादन बिक्री गर्ने सोच बनाएकी छन्, जसले रोजगारी सिर्जनामा मद्दत पुग्ने उनको विश्वास छ।

बैयाबेहडीको दक्षिण पिपल चौतारादेखि हुलाकी सडकसम्म करिब १७२ मिटर क्षेत्रमा ‘पब्लिक जिम मेडिन पार्क’ निर्माण भइरहेको छ। उक्त पार्कको निर्माण कार्य एमएस एआर इन्जिनियरिङ कन्सल्टेन्सी एण्ड कन्स्ट्रक्सन प्रालिले ठेक्का पाएको छ। विभिन्न दातृ संस्थाको सहयोगमा महिलामैत्री सहर परियोजनाअन्तर्गत धनगढी उपमहानगरपालिकाले पार्क निर्माण गरिरहेको हो।

पार्क महिला, बालबालिका, जेष्ठ नागरिक तथा अपाङ्गमैत्री बनाइने बताइएको छ। साथै, यसले धनगढीको सौन्दर्य बढाउनुका साथै आन्तरिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

२०८२ साल माघ २२ गते ठेक्का सम्झौता भएको उक्त परियोजना २०८३ असार मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ। पार्कमा प्रवेश र जिम प्रयोग निःशुल्क हुने वडा नम्बर २ का अध्यक्ष धर्मराज ओझाले जानकारी दिए।

उनका अनुसार स्थानीय सरकारले नागरिकको हितका लागि यस्ता विकास निर्माणका कार्यलाई प्राथमिकता दिइरहेको छ। उनले केही समय सडकमा धुलोको समस्या देखिए पनि निर्माण सम्पन्न भएपछि क्षेत्र अझ सुन्दर र हराभरा बन्ने विश्वास व्यक्त गरे।

धनगढीमा यस्ता पार्कहरू अन्य स्थानमा पनि निर्माण भइरहेका छन्। वडा नम्बर १ स्थित पुरानो एयरपोर्ट क्षेत्रमा पनि अर्को पार्क निर्माण हुने योजना रहेको छ।

समग्रमा, तीव्र गतिमा भइरहेको विकास निर्माणले धनगढीलाई परिवर्तनशील शहरको रूपमा चिनाउन मद्दत पुर्‍याइरहेको छ, जसले स्थानीय नागरिकलाई रोजगारी र आर्थिक अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।
 

कमेन्ट लोड गर्नुस