सुदूर नेपाललाई विश्वसँग जोड्दै

संसदीय परम्परा पालना गर्दै संसद् सञ्चालन गर्न विपक्षी दलको आग्रह

२०८३ वैशाख ३, ०३:२३ खबर संवाददाता

प्रतिनिधि सभामा रहेका विपक्षी दलहरूले संसदीय अभ्यास र परम्पराअनुसार संसद् सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन्। बिहीबार सिंहदरबारमा बसेको नेपाली कांग्रेस, एमाले र नेकपाको संयुक्त बैठकपछि सभामुख डोलप्रसाद अर्यालसँग भएको छलफलमा विपक्षी सांसदहरूले यस्तो आग्रह गरेका हुन्।

उनीहरूले सार्वजनिक लेखा समितिको सभापति प्रमुख प्रतिपक्षी दललाई दिने परम्परालाई निरन्तरता दिनुपर्ने पनि बताएका छन्। छलफलपछि नेकपा संसदीय दलका प्रमुख सचेतक युवराज दुलालले विगतको अभ्यासअनुसार सबै दलसँग परामर्श गरेर संसद् सञ्चालन गर्न आग्रह गरिएको जानकारी दिए। साथै, परामर्श समितिमार्फत सहमतिका आधारमा कार्यप्रक्रिया अघि बढाउने अभ्यासलाई निरन्तरता दिनुपर्नेमा पनि जोड दिइएको उनले बताए।

छलफलका क्रममा सभामुख अर्यालले आगामी बैठकहरूमा सबै दलसँग पर्याप्त परामर्श गरी समन्वयात्मक ढंगले संसद् सञ्चालन गर्ने प्रतिबद्धता जनाउनुभएको दुलालले जानकारी दिनुभयो। साथै, सार्वजनिक लेखा समितिको सभापतिमा नेकपाले कांग्रेसलाई समर्थन गर्ने पनि उनले स्पष्ट पारे।

उक्त छलफलमा कांग्रेसका अर्जुननरसिंह केसी, भरत खड्का, भीष्मराज आङ्दाम्बे र योगेश गौचन, एमालेका गुरु बराल र पदमा अर्याल तथा नेकपाका वर्षमान पुन र युवराज दुलाल सहभागी रहेका थिए।
 

कमेन्ट लोड गर्नुस