कैलालीमा खैरो हेरोइनसहित तीन जना पक्राउ
कैलाली: कैलालीका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
धनगढी उपमहानगरपालिका वडा नं. २ त्रिनगरबाट ६५० मिलिग्राम लागूऔषधसहित गोदावरी नगरपालिका–१ बस्ने २१ वर्षीय राज बि.क.लाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। प्रहरी चौकी त्रिनगरबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको जनाएको छ।
यसैगरी, धनगढी उपमहानगरपालिका वडा नं. ३ त्रिनगरबाट २ ग्राम २२० मिलिग्राम लागूऔषधसहित गोदावरी नगरपालिका–६ बडैया बस्ने २२ वर्षीय राज कुमार घर्तीलाई पनि सोही दिन पक्राउ गरिएको छ। उनलाई वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले नियन्त्रणमा लिएको हो।
त्यसैगरी, गोदावरी नगरपालिका–१ स्थित शिवशक्ति महारुद्र स्टिल तथा आल्मुनियम उद्योगबाट ३ ग्राम ९२० मिलिग्राम लागूऔषधसहित २७ वर्षीय दिकसन पन्तलाई विशेष सूचनाको आधारमा बिहीबार बेलुका पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनलाई इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको छ।