सुदूर नेपाललाई विश्वसँग जोड्दै

संसदका १२ समितिमा आज सभापति चयन गर्न बैठक हुँदै

२०८३ वैशाख ४, १२:५६ रासस

काठमाडौँ: सङ्घीय संसदअन्तर्गतका १२ विषयगत समितिका सभापति चयन गर्न आज बैठकहरू बस्दैछन्। प्रतिनिधिसभाका १० वटा र प्रतिनिधिसभा तथा राष्ट्रियसभाको संयुक्त दुई गरी कुल १२ समितिमा नेतृत्व चयन प्रक्रिया अघि बढाइएको हो।

अर्थ समितिको सभापतिमा डा. कृष्णहरि बुढाथोकी, अन्तरराष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा सुम्निमा उदास, उद्योग तथा वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिमा रहवर अन्सारी, कानुन, न्याय तथा मानवअधिकार समितिमा समीक्षा बास्कोटा, राज्य व्यवस्था तथा सुशासन समितिमा हरि ढकाल तथा सार्वजनिक लेखा समितिमा भरतबहादुर खड्काको उम्मेदवारी दर्ता भएको छ।

यस्तै, महिला तथा सामाजिक मामिला समितिमा आकृति अवस्थी, पूर्वाधार विकास समितिमा आशिष गजुरेल र कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा अशोक चौधरीले उम्मेदवारी दिएका छन्। शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टीका डा. ओजस्वी शेरचन र नेकपा (एमाले)का गुरुप्रसाद बरालबीच प्रतिस्पर्धा हुने भएको छ।

संयुक्त समितिअन्तर्गत संसदीय सुनुवाइ समितिको सभापतिमा बोधनारायण श्रेष्ठको उम्मेदवारी परेको छ भने राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्व कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिमा रास्वपाका गणेश कार्की र नेकपाका मदनकुमारी शाह (गरिमा) चुनावी प्रतिस्पर्धामा छन्।

निर्वाचित सभापतिहरूलाई आजै अपराह्न ४ बजे सभामुख डोलप्रसाद अर्यालले शपथ गराउने कार्यक्रम तय गरिएको छ।
 

कमेन्ट लोड गर्नुस