विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्था हटाउने तयारी
धनगढीः सरकारले विश्वविद्यालयहरूमा प्रधानमन्त्री कुलपति रहने प्रचलित व्यवस्था हटाउने तयारी अघि बढाएको छ। शिक्षामन्त्री सस्मित पोखरेलले यस विषयमा सार्वजनिक रूपमा धारणा व्यक्त गर्दै उक्त व्यवस्थामाथि पुनर्विचार भइरहेको बताएका छन्।
गत मंगलबार सुदूरपश्चिम विश्वविद्यालयको भ्रमणका क्रममा उनले विश्वविद्यालयको कुलपति प्रधानमन्त्री र सहकुलपति शिक्षामन्त्री हुने संरचना उपयुक्त नभएको संकेत गर्दै नयाँ मोडेलबारे सोच भइरहेको जानकारी दिएका थिए।
यसअघि पनि पूर्वप्रधानमन्त्री सुशीला कार्कीले यस्तो व्यवस्थामाथि प्रश्न उठाएकी थिइन्। गत १० मंसिरमा त्रिभुवन विश्वविद्यालय सभामा बोल्दै उनले सबै विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुनु उपयुक्त नभएको बताएकी थिइन्। उनका अनुसार एक प्रधानमन्त्रीले सबै विश्वविद्यालयको जिम्मेवारी सम्हाल्न नसक्ने भएकाले विश्वविद्यालयहरू स्वायत्त हुनुपर्नेमा जोड दिएकी थिइन्।
यस विषयमा अघिल्लो सरकारले अध्यादेशमार्फत व्यवस्था संशोधन गर्ने प्रयास समेत गरेको थियो। त्यसका लागि समिति गठन गरिए पनि उक्त प्रयास सफल हुन सकेन।
सरकारको पछिल्लो तयारीलाई विश्वविद्यालयहरूको स्वायत्तता र व्यवस्थापन सुधारसँग जोडेर हेरिएको छ।