आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
काठमाडौँ: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सरकारी अस्पतालमा आइतबार र शनिबार दुई दिन नै बिदा दिने भएको छ।
मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले गत चैत २२ गते राजपत्रमा प्रकाशित सूचनाबमोजिम शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने व्यवस्थाअनुसार अस्पतालमा पनि लागू गरिएको बताए। यसअघि मन्त्रालयले गत आइतबार पनि अस्पतालको बहिरङ्ग सेवा सञ्चालन गर्न निर्देशन दिएको थियो।
“स्वास्थ्यकर्मीका मनोबल र हितलाई ध्यानमा राखी बिरामीको निरन्तर हेरचाह सुनिश्चित गर्न र सरकारको हप्तामा दुईदिन सार्वजनिक बिदाको नीतिअनुरुप आइतबारका पूर्वनिर्धारित शल्यक्रियालगायतका बिरामीको सहजता हेरि ‘रिसेडयुल’ गरी अन्तरङ्ग र आकस्मिक सेवाहरु सधैँझैँ २४ घण्टा सूचारु गरिने छ”, उनले भने। मन्त्रालयका प्रवक्ता बुढाथोकीले बिदाको दिनमा बिरामीले कुनै पनि सास्ती भोग्न नपरोस् भनी अस्पतालहरुले सम्भव भएसम्म सेवा प्रदान गर्नसमेत आग्रह गरेका छन्।
यस्तै अस्पतालमा उपलब्ध नभएका सेवाका लागि नजिकैको उपयुक्त अस्पतालमा सहज रुपमा रेफर गर्न र एम्बुलेन्सहरु हरदम तयारी अवस्थामा राख्ने व्यवस्था मिलाउनसमेत सबै अस्पताललाई अनुरोध मन्त्रालयले गरेको छ। मन्त्रालयले सर्वसाधारणको जानकारीका लागि बिदामा उपलब्ध सेवाको विवरण आफ्नो वेबसाइट तथा सूचनापाटीमा राख्नसमेत अनुरोध गरेको छ।