सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा नेपाल टेलिकमको नेटवर्क संकट गहिरिँदै, नौ वटै स्थानीय तह प्रभावित

२०८३ वैशाख ५, ०२:५७ खबर संवाददाता

बाजुरा: बाजुरामा पछिल्लो समय फोन नेटवर्क समस्या झन् गम्भीर बन्दै गएको छ। जिल्लाका सबै नौ वटै स्थानीय तहमा नेपाल टेलिकमको सेवा प्रभावित हुँदा स्थानीय नागरिकले सञ्चारमा ठूलो असुविधा भोगिरहेका छन्।

पछिल्ला दुई–तीन महिनायता फोन नलाग्ने, आवाज नआउने, कुराकानीकै बीचमा फोन काटिने र आवाज टुक्राटुक्रा भएर आउने जस्ता समस्या बढ्दै गएका छन्। फोन सेवा मात्र नभई फोरजी इन्टरनेट समेत प्रभावहीन बन्दै गएको छ, जसले गर्दा दैनिक जनजीवन नै प्रभावित हुन थालेको छ। दुर्गम क्षेत्रका बासिन्दाहरूका लागि समस्या अझै जटिल बनेको छ।

बडीमालिका नगरपालिका–७ का स्थानीय प्रेमलाल पाध्यायले नेटवर्क कमजोर हुँदा फोन गर्दा पनि स्पष्ट रूपमा कुरा गर्न नसकिने बताए। आपतकालीन अवस्थामा समेत सम्पर्क गर्न कठिन हुने गरेको उनले गुनासो गरे।

यस्तै, हिमाली गाउँपालिकाका जयकृष्ण पाण्डेले पनि मोबाइल नेटवर्क र फोरजी सेवा दुवै अवरुद्ध हुँदा गाउँभरि नै सञ्चारमा समस्या भइरहेको बताए।


 

कमेन्ट लोड गर्नुस