धनगढीको एरिष्टो स्कुल राष्ट्रिय गणित हाजिरीजवाफमा देशभरका १५ उत्कृष्ट विद्यालयलाई उछिन्दै तेस्रो
धनगढीः सुदूरपश्चिम प्रदेशको शैक्षिक क्षमतालाई राष्ट्रिय स्तरमा उजागर गर्दै धनगढीस्थित एरिष्टो इङ्लिस बोर्डिङ स्कुलले राष्ट्रिय गणित हाजिरीजवाफ प्रतियोगितामा तेस्रो स्थान हासिल गरेको छ। काउन्सिल फर म्याथमेटिक्स एजुकेशन (MEC) को आयोजनामा काठमाडौँमा सम्पन्न ‘राष्ट्रिय माध्यमिक तह (कक्षा ९–१०) गणित हाजिरीजवाफ प्रतियोगिता–२०२६’ मा देशभरका उत्कृष्ट १५ विद्यालयबीच प्रतिस्पर्धा भएको थियो। नगर, जिल्ला र प्रदेशस्तर पार गर्दै फाइनलमा पुगेको एरिष्टोले सात चरणको कडा प्रतिस्पर्धा पार गर्दै उत्कृष्ट तीनभित्र स्थान सुरक्षित गर्न सफल भयो। प्रतियोगितामा पोखराको मदरल्याण्ड सेकेन्डरी स्कुल प्रथम, काठमाडौँको बूढानीलकण्ठ स्कुल द्वितीय र धनगढीको एरिष्टो इङ्लिस बोर्डिङ स्कुल तृतीय बने। एरिष्टोको प्रतिनिधित्व कक्षा १० का आदर्श लम्साल र विधि भण्डारी तथा कक्षा ९ का समीर धामीले गरेका थिए। उनीहरूलाई गणित शिक्षक तेजराज कापडीले मार्गदर्शन गरेका थिए। विद्यालयका अनुसार शिक्षकको मेहनत र विद्यार्थीहरूको आत्मविश्वासले नै यो सफलता सम्भव भएको हो। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यालय र विद्यार्थीलाई पदक, ट्रफी तथा प्रमाणपत्र प्रदान गरिएको थियो। सुदूरपश्चिमबाट राष्ट्रिय फाइनलसम्म पुगेर पदक जित्नुले यस क्षेत्रको शैक्षिक स्तर प्रतिस्पर्धी रहेको पुष्टि गरेको विद्यालयले जनाएको छ। यस उपलब्धिले एरिष्टो परिवारसहित सम्पूर्ण सुदूरपश्चिमवासीमा उत्साह थपेको भन्दै विद्यालयले आगामी दिनमा पनि यस्तै उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गर्ने प्रतिबद्धता जनाएको छ।