धनगढीको जाखोर तालमा करोडौं बजेट दुरुपयोग
धनगढीः कैलालीको धनगढी उपमहानगरपालिका-७ मा अवस्थित जाखोर तालमा करोडौं बजेट दुरुपयोग भएको छ।
धनगढी उपमहानगरपालिका–७, देवहरिया वनस्पति उद्यानस्थित जाखोर ताल परिसरमा सिमेन्टको ब्लक लगाउने र सोलार बत्ती जडान गर्ने कार्यमा ठुलो बजेट दुरुपयोग भएको हो। देवहरिया वस्पति उद्यान तथा अनुसन्धान कार्यालयको स्वामित्वमा रहेको ताल क्षेत्रमा धनगढी उपमहानगरपालिकाले उद्यान कार्यालयको असहमति हुँदाहुँदा बल मिच्याइ गरेर तयार पारेको संरचना अहिले उपयोगहीन बनेका छन्।
नगर प्रमुखमा नृपबहादुर वड हुँदा जाखोर ताललाई पर्यटन गन्तव्य बनाउने र रातिको समयमा पनि पर्यटक आकर्षित गर्ने उद्देश्यका साथ चार करोड ४९ लाखमा ठेक्का सम्झौता गरेर ब्लक लगाउने र सोलार बत्ती जडान गर्ने कार्य भएको थियो। २०७६ मा ठेक्का भइ काम अगाडि बढाइएको थियो। पालिकाले १२.५ हेक्टर क्षेत्रफल रहेको जाखोर तालको तीनतिर (उद्यान क्षेत्रतर्फबाहेक) वरिपरि ब्लक लगाउनुका साथै बत्ती जडान गरेको हो।
२५४ खम्बामा ७६२ वटा सोलार बत्ती जडान गरिएका थिए। लगाएका ती बत्तीहरु अब कुनै पनि बल्दैनन् भने बनाइएका संरचना पनि तोडफोड भइरहेको छ।
जाखोर ताल क्षेत्रमा जडान गरिएका सोलार बत्तीहरु गतवर्षदेखि नै बल्न छोडेको स्थानीय कमला चौधरीले बताए। उनका अनुसार धेरैजसो बल्ब र सोलार ब्याट्री चोरी भइसकेका छन्।
कतिपय बल्बहरु फुटाइएका छन्। 'अब सोलार र पोलमात्रै बाँकी छ', चौधरीले भने, 'कुन दिन यो पनि रहँदैन।'
नेपाल सरकारले २०५६ मा नै जाखोर तालको स्वामित्व वन अन्तर्गतको देवहरिया वनस्पति उद्यानलाई हस्तान्तरण गरेको थियो। वनस्पति उद्यान कार्यालयले असहमति जनाउँदा जनाउँदै धनगढी उपमहानगरपालिकाले ठुलोे रकम खर्चेर संरचना बनाउँदा त्यो अर्थहीन हुन पुगेको छ। पूर्व नगर प्रमुख वडको लहडमा राज्यको बजेट खर्च गरिँदा त्यसको कुनै प्रतिफल प्राप्त नभएको एक जना स्थानीयले भने। वनस्पति कार्यालयको अधिनमा रहेको तालमा नगरपालिकाले अनावश्य हस्तक्षेप गरेको भन्दै वनस्पति कार्यालय धनगढीले विरोध गर्दै आएको छ।
जैविक विविधता संरक्षणको हिसाबले पालिकाले गर्नै नहुने काम उद्यान परिसरको ताल क्षेत्रमा गर्दा ठुलो रकम दुरुपयोग हुन पुगेको देवहरिया वनस्पति उद्यान तथा अनुसन्धान कार्यालयका तत्कालीन प्रमुख गङ्गादत्त भट्टले बताउ। 'ताल परिसरमा सयौं बत्ती बालेमा पुतली, किरा, फट्याङ्ग्रा मर्छन्। त्यसैैले त्यो गर्नै नहुने कार्य थियो।', हाल सेवा निवृत्त उनले भने, 'तर, पालिकाले बल मिच्याइँ गरेर ब्लक लगायो, बत्ती जडान गर्यो। आखिर त्यो उपयोगमै आएन।'
जाखोर ताल क्षेत्रमा बत्ती जडान नगरी बरु आवश्यक परेको ठाउँमा जडान गर्नका लागि २०७६ मै पालिकालाई आग्रह गर्दा आफूले विकास विरोधीको आरोप खेपेको भट्टको भनाइ छ। 'उज्यालोको लागि एक दुई ठाउँमा लगाउन ठिकै थियो। त्यसमा हामी सहमत पनि थियौँ', उनले भने, 'तर, त्यतिखेर जिद्दी गरेर सयौं बत्ती लगाइयो। नगर्नुसभन्दा हामी विकास विरोधी बन्यौँ।'
धनगढी उपमहानगरपालिकाका डिभिजन इन्जिनियर दिजराज भट्टले वनस्पति उद्यान कार्यालयले काम गर्न नदिएपछि पालिकाले छोडेको बताए। 'हामीलाई कामै गर्न दिइएन' उनले थपे, 'त्यसपछि छोड्यौँ। अब बनेको संरचनामा त्यहाँ मान्छे हिँडिरहेका छन्। केही बत्ती बलिरहेका होलान।'
जाखोर ताल क्षेत्रमा प्लाष्टिक बटुल्दै आएका स्थानीय बुद्धिराम चौधरीले संरचना बनाएर रेखदेख नगरेपछि उच्छृङ्खल स्वभावका व्यक्तिहरुले तोडफोड गर्नुका साथै चोरेर लगेको बताए। 'दुर्व्यसनमा लागेकाहरुले ब्याट्री निकालेर बेचेको सुनिन्छ', उनले भने।