रास्वपा केन्द्रीय समितिको बैठक बस्दै
काठमाडौँः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज बस्ने भएको छ।
रास्वपाका प्रवक्ता मनिष झाले आज दिउँसो ३ः०० बजे बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बस्न लागेको राससलाई जानकारी दिए। उक्त बैठकमा अनिवार्य उपस्थितिका लागि रास्वपाले पार्टीका पदाधिकारी एवम् सदस्यलाई अनुरोध गरेको छ। यसैबीच, आइतबार रास्वपाको सचिवालय बैठक पनि बसेको थियो।
बैठकमा प्रतिनिधिसभा सदस्यको सङ्गठनात्मक जिम्मेवारी र संसदीय दलका लागि प्राविधिक सहायता एवं ‘लेवी’लगायत विषयमा पनि छलफल भएको थियो। आजको बैठकले सचिवालयले प्रस्ताव गरेका बुँदालाई छलफल गरेर अनुमोदन गर्नेछ।
आइतबारको सचिवालय बैठकमा जिल्ला अधिवेशन कार्यविधि, केन्द्रीय आयोग, सल्लाहकार परिषद्, सङ्घीय नेतृत्व मञ्च र विभागको मनोनयन, महाधिवेशन कार्यविधि मस्यौदा समिति गठनलगायत विषयमा छलफल भएको थियो।