गृहमन्त्री गुरुङमाथि तत्काल छानबिन गर्न कांग्रेसको माग
धनगढीः सम्पत्ति विवरणसँग सम्बन्धित विवादमा परेका गृहमन्त्री सुधन गुरुङमाथि नेपाली कांग्रेसले तुरुन्त अनुसन्धान गर्न माग गरेको छ। सोमबार सार्वजनिक गरिएको धारणा पत्रमार्फत कांग्रेसले उक्त विषयले सार्वजनिक चासो मात्र होइन, राजनीतिक नैतिकता र पारदर्शितामाथि गम्भीर प्रश्न उठाएको जनाएको छ।
प्रवक्ता देवराज चालिसेको हस्ताक्षरमा जारी विज्ञप्तिमा भनिएको छ कि पदमा बहाल रहँदा अनुसन्धान प्रक्रियामा प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पर्ने आशंका स्वाभाविक हुने भएकाले स्वतन्त्र, निष्पक्ष र प्रभावरहित छानबिनका लागि आवश्यक वातावरण सुनिश्चित गर्नुपर्छ।
कांग्रेसले सरकारसँग गृहमन्त्रीसँग सम्बन्धित सबै आरोपहरूको उच्चस्तरीय, स्वतन्त्र र निष्पक्ष अनुसन्धान प्रक्रिया तत्काल सुरु गर्न स्पष्ट माग गरेको छ। साथै, यस विषयमा कुनै ढिलासुस्ती, प्रभाव वा ढाकछोप गर्ने प्रयासले सुशासन, नैतिकता र जनविश्वासमा गम्भीर क्षति पुर्याउने चेतावनी पनि दिएको छ।