सुदूर नेपाललाई विश्वसँग जोड्दै

पक्की घर पाएपछि मुक्त कमैया दङ्ग

२०८३ वैशाख ७, ०२:५७ खबर संवाददाता

धनगढीः मुक्त कमैया जगतराम चौधरीको जीवनको आधा समय अरूको घरमा कमैया बस्दै बित्यो । सानैदेखि बच्चा स्याहार्ने कामबाट कमैया जीवन सुरु गरेका उनले ४० वर्षसम्म अरूको घरमा काम गरेका थिए। चौधरी भन्छन्, “आधा जीवन बर्दगोरियाका विभिन्न मालिकको घरमै बिताएँ । कमैया मुक्तिको बेला पनि कमैया नै थिएँ । कमैयाबाट मुक्त त भएँ तर, पहिलो चरणमा परिचयपत्र पाउनबाट वञ्चित भएँ ।” 

परिचयपत्र पाउनमै वञ्चित भएपछि चौधरीले जग्गा पाउने कुरै थिएन । मुक्तिको खुसियालीसँगै गरिबी र अभावको बोझले थिचिएका उनको अवस्था झनै जर्जर बन्यो । आमाबुवासमेत स्याहार्न सक्ने अवस्था रहेन । विगत सम्झँदै चौधरीले भने, “मैले आमाबुवालाई एक वर्षसम्म दिदीको घरमा राखेँ । २०६० सालमा परिचयपत्र पाएपछि बल्ल रानीकुण्डामा पाँच कट्ठा जग्गा मिल्यो ।”

मुक्त कमैया चौधरीलाई सरकारले पाँच कट्ठा जग्गा त दियो तर त्यो उपभोग गर्न र त्यहाँ बस्न सजिलो भने थिएन । सामुदायिक वन उपभोक्ता समितिले कति पटक मुक्त कमैयाको झुप्रोमा आगो लगायो त कति पटक सामान लुटिए । ठुलो सङ्घर्षपछि सरकारले दिएको जग्गामा कच्ची घर बनाएर बसेका चौधरीले जीवनको उत्तरार्धतिर दुई कोठे पक्की घर पाउँदा सपना जस्तै लागिरहेको बताए।  

आइतबार नयाँ घर पाएपछि हर्षित मुद्रामा उनले भने, “पहिले जग्गै नभएको मान्छे म पक्की घर पाउँछु भनेर कहिल्यै सोचेको पनि थिएन । घर पाउँदा सपना जस्तै लागिरहेको छ । अत्यन्त खुसी पनि लागिरहेको छ । सरकार र सङ्घ संस्थालाई धन्यवाद छ ।” 

मुक्त कमैया सिङ्गीदेवी चौधरीको परिवारमा पनि खुसीको दीप बलेको छ । कारण, हो नयाँ पक्की घर । नयाँ घरको हस्तान्तरणको प्रमाणपत्र हात लागेपछि उनि खुसीले दङ्ग छिन्। उनि भन्छिन्, “हामीले जीवनमा धेरै दुःखकष्ट भोगेका छौं ।” जग्गा पाएपछि सानो कच्ची घर बनाएर बस्दै आएका थियौँ तर धेरै पटक लुटपाट पनि भयो । आज पक्की घर पाएपछि धेरै खुसी लागेको छ ।”

जगतराम र सिङ्गीदेवी जस्तै कैलालीको बर्दगोरिया गाउँपालिका–३, रानीकुण्डका पक्की घर पाउने विपन्न मुक्त कमैया खुसीले गद्गद् छन् । सुदूरपश्चिम प्रदेश सरकार, बर्दगोरिया गाउँपालिका, ह्याबिट्याट फर नेपाल र राष्ट्रिय दलित नेटवर्कको संयुक्त सहयोगमा निर्माण भएको आवास रानीकुण्डका २१ मुक्त कमैया परिवारलाई आइतबार हस्तान्तरण गरिएको छ । भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री वीरबहादुर थापाले मुक्त कमैयालाई नयाँ आवास हस्तान्तरण गरे। 

नयाँ आवास पाउँदा निकै खुसी लागेको मुक्त कमैया सुकनीदेवी चौधरीले बताइन्।  उनले पक्की घर बनाउने सपना पूरा भएको उल्लेख गर्दै भनिन्, “कुनै न कुनै दिन हाम्रो पनि पक्की घर हुन्छ भन्ने लाग्थ्यो । आज पक्की घर मिलेको छ । खुसी छौँ ।”

मुक्त कमैयाका लागि सुरक्षित आवास निर्माण कार्यक्रम अन्तर्गत एक करोड ४७ लाख ६९ हजार रुपियाँ लगानीमा सुरक्षित आवास निर्माण गरिएको जनाइएको छ । आवास हस्तान्तरण गर्दै मन्त्री थापाले सङ्घीय सरकारले पुनस्र्थापनाको कार्यबाट हात झिकेर स्थानीय सरकारलाई जिम्मेवारी सुम्पेपछि सुदूरपश्चिम प्रदेश सरकारले कार्यविधि बनाएर मुक्त कमैया, हलिया, मुत्तक्त कमलरीका लागि आवास निर्माणको कार्य अगाडि बढाएको बताए। उनले भने, “यसरी काम अगाडि बढाएको हाम्रो प्रदेश मात्रै हो । अरू प्रदेशले काम गरेका छैनन् ।”

मन्त्री थापाले मुक्त कमैया, मुक्त हलिया, कमलरीको लागि बर्सेनि घर बनाउनुभन्दा आवश्यक भएका सबैका लागि एकै वर्षमा बनाउन सकिने बताए। (गाेरखापत्र) 
 

कमेन्ट लोड गर्नुस