दार्चुलाका २२ हजारभन्दा बढी घरधुरीमा विद्युतिकरण
दार्चुलाः दार्चुलाको ग्रामीण क्षेत्रमा धमाधम विद्युतीकरण भइरहेको छ । नेपाल विद्युत् प्राधिकरणले दार्चुला–डोल्पा ग्रामीण विद्युतीकरण आयोजनामार्फत यहाँका नौ वटै स्थानीय तहमा विद्युतीकरणको काम भइरहेको हो ।
यहाँको ग्रामीण बस्तीमा विद्युत् विस्तार गर्न मुख्य लाइन र शाखा लाइन निर्माणको काम भइरहेको दार्चुला वितरण केन्द्रका सहायक प्रमुख रौशनकुमार ठाकुरले जानकारी दिए। उनका अनुसार जिल्लाका २९ हजार घरधुरीमध्ये २२ हजार पाँच सय घरधुरीमा विद्युतीकरण भइसकेको छ ।
दार्चुला–डोल्पा ग्रामीण विद्युतीकरण आयोजनामार्फत थप दुई हजार पाँच सय घरधुरीमा विद्युत् बाल्न लाइन निर्माणको काम भएर विद्युत् प्रसारणको अन्तिम तयारी भइरहेको उनले बताए।
बाँकी घरधुरीमा विद्युतीकरण गर्नका लागि बजेटको माग गरेको तथा बजेट स्वीकृत भई आएमा मुख्य लाइन तथा शाखा लाइन निर्माणको काम सुरु हुने उनले बताए। यसअघि विद्युत् प्राधिकरणले दार्चुलामा दुई सयभन्दा बढी ट्रान्सफर्मरमार्फत विद्युत् वितरण गर्दै आएको छ भने आयोजनामार्फत ट्रान्सफर्मर थपिएका छन् ।
यसैबिच नेपाल भारतको सीमा क्षेत्रमा पर्ने व्यास गाउँपालिका २, मालगाउँमा विद्युत्को राष्ट्रिय प्रसारण लाइन विस्तार गर्न सफल भएको उनले बताए। मालगाउँका १५ घरधुरीमा विद्युत् विस्तार गरिएको बताइएको छ । निकट भविष्यमै सबै घरधुरीमा विद्युत् पु¥याउने लक्ष्य रहेको सहायक प्रमुख ठाकुरले बताए। मालका स्थानीय जनकसिंह धामीले उज्यालोको सपना देख्दै धेरै अन्धकारमय रात बिताएपछि विद्युतीकरण भएको भन्दै खुसी व्यक्त गरे।
यहाँको महाकाली नगरपालिका, लेकम, मालिकार्जुन, दुहुँ गाउँपालिका र शैल्यशिखर नगरपालिकालगायत अधिकांश स्थानीय तहमा विद्युतीकरणको काम अन्तिम चरणमा पुगेको उनले जानकारी दिए। व्यास, मार्मा, नौगाड, अपि हिमालमा गाउँपालिकामा पनि विद्युतीकरणका लागि काम भइरहेको उनले बताए।
दार्चुलामा हालसम्म ७५ प्रतिशत घरधुरीमा बिजुली बलिसकेको छ । “करिब साढे बाइस हजार घरधुरीमा बिजुली पुगिसकेको छ, बाँकी घरधुरीमा विद्युतीकरणका लागि बजेटको पहल भइरहेको छ,” उनले भने ।
दार्चुलामा अहिलेसम्म शैल्यशिखर नगरपालिकाको बलाँच र महाकाली नगरपालिकाको थालिगाड र मार्मा गाउँपालिकाको सेलबिसा गरेर तीन वटा सबस्टेसनमार्फत विद्युत् वितरण गरिएको छ ।