सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुराको जोगबुडामा झाडापखालाले एक बालकको मृत्यु

२०८३ वैशाख १३, ०४:५० खबर संवाददाता

डडेल्धुराः डडेल्धुरा जिल्लाको भित्री मधेश जोगबुडामा झाडापखालाका कारण एक सात वर्षीय बालकको मृत्यु भएको छ । अत्यधिक गर्मी हुने चुरे क्षेत्र अन्तर्गत परशुराम नगरपालिका–२ मा झाडापखालाको प्रकोपसँगै बालकको मृत्यु भएपछि एकै परिवारमा शोक छाएको छ ।

एकै परिवारका चार जनालाई एक्कासि झाडापखाला लागेपछि अस्पताल लैजाने क्रममा ७ वर्षीय बालक युवराज बुढामगरको बाटोमै मृत्यु भएको हो ।

जोगबुडा प्रादेशिक अस्पतालका सूचना अधिकारी प्रकाश घिमिरेका अनुसार झाडापखाला लागेका मृतककी आमा र अन्य तीन बालबालिका अस्पतालमा भर्ना गरिएका छन् । उनीहरूको हाल उपचार भइरहेको छ । तीनै जना बालबालिकामा झाडापखाला देखिएको र आमा भने अत्यधिक तनावका कारण प्रभावित भएको उनले बताए। 

झाडापखाला लागेका उनीहरूको हैजाको परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको घिमिरेले जानकारी दिए। प्रारम्भिक रूपमा फूड पोइजनका कारण झाडापखाला र बान्ता भएको आशङ्का गरिएको छ । उहाँका अनुसार हाल उपचाररत सबैको अवस्था सामान्य रहेको छ ।
 

कमेन्ट लोड गर्नुस