प्रसिद्ध धार्मिकस्थल बडीकेदार मन्दिरमा वैशाख १६ र १७ गते विशेष मेला लाग्ने
डोटी: डोटी जिल्लाको प्रसिद्ध धार्मिकस्थल बडीकेदार मन्दिरमा यही वैशाख शुक्ल पक्षको तृतीया र चतुर्दशी तिथिमा १६ र १७ गते विशेष मेला लाग्ने भएको छ। शिवधामका रूपमा परिचित यस मन्दिरमा हरेक वर्ष हजारौँ भक्तजन पुग्ने गर्दछन्। स्थानीयवासीका अनुसार यहाँ केदारनाथ बाबाको स्वरूपमा पूजा गरिने परम्परा रहिआएको छ।
विशेषगरी सन्तान प्राप्तिको कामना लिएर आउने श्रद्धालुले मनोकामना पूरा हुने विश्वासका साथ पूजा गर्ने गर्दछन्। यही आस्थाका कारण सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्ला, कर्णाली प्रदेशको दैलेख तथा भारतका उत्तरप्रदेश र उत्तराखण्डबाट समेत भक्तजन यहाँ आउने गरेका छन्।
बडीकेदार क्षेत्रमा जेठ महिनाको मेलासँगै कात्तिक पूर्णिमा र महाशिवरात्रिका अवसरमा पनि ठूलो धार्मिक उत्सव लाग्ने गर्दछ। ती अवसरमा विशेष पूजा, भजनकीर्तन र दर्शनका लागि भक्तजनको उल्लेख्य भीड लाग्ने गरेको छ।
बडीकेदार क्षेत्र पर्यटन विकास समितिका कार्यकारी अधिकृत गणेशराज जोशीका अनुसार यस वर्षको मेलाका लागि आवश्यक सम्पूर्ण तयारी पूरा गरिएको छ। मेलामा सहभागी हुने दर्शनार्थीका लागि सामान्य खानपान (भण्डारा) तथा बसोबासको व्यवस्था मिलाइएको उनले जानकारी दिए। उक्त कार्यमा इच्छुक व्यक्तिहरुले सहयोग गरिदिन पनि उनले आग्रह गरेका छन्।
कात्तिक महिनामा लाग्ने मेलामा भने दुई लाखभन्दा बढी श्रद्धालु पुग्ने गरेका छन्। यसले बडीकेदार क्षेत्र धार्मिक पर्यटनको प्रमुख केन्द्र बन्दै गएको संकेत गरेको स्थानीयको भनाइ छ।
हाल मन्दिर क्षेत्रमा खानेबस्ने तथा अन्य सुविधा पर्याप्त नभएकाले सुधारको काम अघि बढाइएको समितिले जनाएको छ। कार्यकारी अधिकृत जोशीका अनुसार श्रद्धालुलाई सहज सेवा उपलब्ध गराउन आवश्यक पूर्वाधार निर्माण तथा व्यवस्थापन विस्तारका योजना सञ्चालन भइरहेका छन्।
धार्मिक आस्था, प्राकृतिक सौन्दर्य र सांस्कृतिक महत्व बोकेको बडीकेदार क्षेत्र डोटीको पहिचानका रूपमा स्थापित हुँदै गएको छ।