‘वल्र्ड लिङ्क बिट द स्पीड’ को तेस्रो संस्करणका लागि एन्ड्रयु लियोनार्ड धनगढी आउँदै
धनगढी: नेपालकै सबैभन्दा तिब्र गतिकाे बलरको खोजी गर्ने उद्देश्यसहित ‘वल्र्ड लिङ्क बिट द स्पीड’ प्रतियोगिताको तेस्रो संस्करण यही वैशाख १९ गते धनगढीमा आयोजना हुने भएको छ।
इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्ड लिङ्कको आयोजनामा हुन लागेको यस कार्यक्रममार्फत क्रिकेटप्रति रुचि राख्ने युवा प्रतिभाहरूलाई आफ्नो बलिङ गति, सीप र क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गरिने वल्र्ड लिङ्ककाे धनगढी शाखा कार्यालयले जनाएको छ। प्रतियोगितामा सहभागी खेलाडीहरूले विशेष उपकरणमार्फत आफ्नो बलिङ स्पीड मापन गराउनेछन्, जसबाट उत्कृष्ट र छिटो बलर छनोट गरिनेछ।
आयोजकका अनुसार कार्यक्रमले स्थानीय तथा राष्ट्रिय स्तरका उदीयमान खेलाडीहरूलाई चिनाउने र उनीहरूको प्रतिभा उजागर गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ। क्रिकेटप्रेमी खेलाडीहरूलाई उत्साहका साथ सहभागिताका लागि आह्वानसमेत गरिएको छ।
कार्यक्रमलाई अझ आकर्षक बनाउने उद्देश्यले प्रसिद्ध अन्तर्राष्ट्रिय क्रिकेट कमेन्टेटर एन्ड्रयु लियोनार्ड विशेष अतिथिका रूपमा धनगढी आउने जनाइएको छ। उनको उपस्थितिले प्रतियोगिताको माहोल थप रोचक र प्रेरणादायी बन्ने अपेक्षा गरिएको छ।
यसअघि सम्पन्न ‘वल्र्ड लिङ्क बिट द स्पीड’को दोस्रो संस्करणबाट तिब्र गतिकाे बलरका रूपमा हेमन्त धामी छनोट भएका थिए। आयोजकका अनुसार यस वर्षको संस्करण अझ प्रतिस्पर्धात्मक र व्यवस्थित हुने गरी तयारी तीव्र पारिएको छ। उक्त कार्यक्रम १९ गते दिउँसाे ४ बजे धनगढी क्रिकेट एकेडेमीमा हुने जनाइएकाे छ।
स्थानीय क्रिकेटको विकास र नयाँ प्रतिभा उत्पादनमा टेवा पुर्याउने विश्वाससहित आयोजना हुन लागेको यस कार्यक्रमप्रति खेलाडी तथा क्रिकेटप्रेमीहरूको उत्साह बढ्दै गएको छ।