सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी जेसिजले आयोजना गरेको हाफ म्याराथनमा नेपाली सेनाका धावक रावत प्रथम

२०८३ वैशाख १८, ०३:१८ जयन्त सिंह भाट

धनगढीः लागूऔषध न्यूनीकरणको सन्देशसहित जेसीआई धनगढीले धनगढी रंगशालामा आयोजना गरेको धनगढी हाफ म्याराथन कार्यक्रम सम्पन्न भएको छ। 

कार्यक्रम संयोजक दीपेश बोहराका अनुसार हालसम्मकै उच्च पुरस्कार राशीसहित आयोजित २१.१ किलोमिटर हाफ म्याराथनतर्फ नेपाली सेनाका धावक नरेन्द्र सिंह रावत प्रथम भएका छन्। ‘अब धनगढी दौडिन्छ’ नारासहित आज भएको हाफ म्याराथनको निर्धारित २१ दशमलव १ किलोमिटर दूरी पूरा गर्दै उनी विजेता बनेका हुन् ।

उनले उपाधिसँगै ७७ हजार ७७७ पुरस्कारसमेत प्राप्त गरे । रावत २०७९ सालदेखि धनगढी हाफ म्याराथनमा सहभागी हुँदै आएका थिए । २०७९ र २०८० सालमा दोस्रो भएका उनी २०८१ र २०८२ मा भने तेस्रो भएका हुन् ।

धनगढी जेसिजले आयोजना गरेको हाफ म्याराथनमा सेनाकै सञ्जय श्रेष्ठ दोस्रो र सेनाकै अक्कल पाल तेस्रो भएका छन् । दोस्रो भएका श्रेष्ठले ५५ हजार ५५५ र तेस्रो भएका पालले  ४४ हजार ४४४ रुपैयाँ प्राप्त गरेका छन् ।

त्यसैगरी ५ किलोमिटर कर्पोरेटतर्फ कुशल प्रसाद जैसी प्रथम, प्रदीप खत्री दोस्रो र तेज बहादुर चन्द तेस्रो भए भने ५ किलोमिटर महिलातर्फ देवकी कुमारी धामी प्रथम, सिला चौधरी दोस्रो र अप्सरा बम तेस्रो स्थानमा रहे।

लक्की ड्रमार्फत जेनीथ कुँवरले सीजी एलइडी टिभी जितेकी छन् भने निसर्ग अस्पतालले सन्तोष पाल, आशा जोशी र डल्लु राना मगरलाई निःशुल्क होल बडी चेकअप सेवा प्रदान गर्ने घोषणा गरेको छ।

जेसीआई धनगढीका अध्यक्ष महेश्वर ओझाले यस्ता कार्यक्रमहरूले युवालाई सकारात्मक दिशातर्फ प्रेरित गर्नुका साथै खेलकुदमार्फत महत्वपूर्ण सामाजिक सन्देश प्रवाह गर्ने बताएका छन्।

कार्यक्रमसँगै विभिन्न स्टल सञ्चालन गरिनुका साथै रक्तदान शिविर पनि आयोजना गरिएको थियो। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले कार्यक्रमको उद्घाटन गरेका थिए भने समापन समारोहका प्रमुख अतिथि जेसीआई नेपालका राष्ट्रिय अध्यक्ष जीवन कार्की रहेका थिए। यस अवसरमा म्याराथनका ‘फेस अफ द इभेन्ट’ दीपक उपाध्यायलाई सम्मान पनि गरिएको थियो।

जयन्त सिंह भाट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस